पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का सहसंयोजक माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ ।
विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुने भएको हो ।
यसअघि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई माधव नेपाललगायतको अनुसन्धानपछि तामेलीमा राखिएको फाइल झिकाउन आदेश दिएको थियो । सो आदेशअनुसार अख्तियारबाट फाइल प्राप्त भएपछि आइतबारका लागि पेसी तोकिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा माधव नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आयोगले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना तथा सजाय मागदाबी गरेको छ ।
अख्तियारका अनुसार तत्कालीन प्रधानमन्त्री रहेका बेला माधव नेपालले पदको दुरुपयोग गर्दै सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत तथा संस्थागत स्वार्थमा हस्तान्तरण गराएको तथा भ्रष्टाचारजन्य गतिविधिमा संलग्न भएको आरोप लागेको छ ।
नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति दिएको थियो । साथै, २०६६ माघ १८ गते ठाडो आदेशमार्फत पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री तथा सट्टापट्टा गर्न अनुमति दिएको अभियोगपत्रमा उल्लेख छ ।
अख्तियारका अनुसार ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना गरी भ्रष्टाचार गरिएको आरोपमा ९३ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।