नेपाल राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता (ऋण दिन मिल्ने रकम) बढी भएको कारण राष्ट्र बैंकले बजारबाट पैसा झिक्न यो कदम चाल्दै आएको हो ।
बजारमा रहेको तरलता दीर्घकालीन प्रकृतिको भएकाले राष्ट्र बैंकले गएको दुई सातामा ९ वटा ऋणपत्रमार्फत करिब २ खर्ब रुपैयाँ झिकिसकेको छ । यी ऋणपत्रमार्फत राष्ट्र बैंकले रकम एक वर्षका लागि बजारबाट व्यवस्थापन गरेको थियो ।
पछिल्ला दुई हप्तामा भने राष्ट्र बैंकले छोटो अवधिका लागि अर्को उपकरण, निक्षेप संकलन, मार्फत पैसा बजारबाट झिक्दै आएको छ । सोही क्रममा आज ६२ दिनका लागि ३० अर्ब रुपैयाँ झिक्ने तयारी भइरहेको छ ।
राष्ट्र बैंकका अनुसार पछिल्ला तीन वर्षयता सातामा दुई पटक (आइतबार र बुधबार) नियमित रूपमा बजारबाट पैसा झिकिने गरेको छ । तर, दुई साता ऋणपत्र जारी भएपछि निक्षेप संकलन उपकरण जारी भएको थिएन । अब केही समय ऋणपत्र जारी नहुने भएपछि करिब दुई महिनाका लागि निक्षेप संकलनमार्फत पैसा झिक्ने निर्णय भएको हो ।
निक्षेप संकलनमा भाग लिन चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक वा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि सूचनामा उल्लेख छ ।
राष्ट्र बैंकले भने अनुसार, घटीमा न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष रकम जाने गरी बोलकबोल गर्न सकिनेछ । बोलकबोल ब्याजदरमा हुने छ भने बहु–ब्याजदरमा पनि बहु–बोलकबोल गर्न सकिने व्यवस्था रहेको छ ।