पर्सा निर्वाचन क्षेत्र नं. ३ मा जेन–जी युवासहित तीन सयभन्दा बढी व्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
रास्वपा पर्सा क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार रामाकान्त चौरसियाले आयोजित एक कार्यक्रममार्फत स्थानीय जेन–जी युवासहित तीन सयभन्दा बढी व्यक्तिलाई पार्टी प्रवेश गराएका हुन् । देशभर राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दै गएको सन्दर्भमा पर्सा निर्वाचन क्षेत्र नं. ३ का स्थानीयवासीहरू परिवर्तनको आशासहित रास्वपामा आबद्ध भएको उनले बताए । कार्यक्रममा सहभागीहरूले आगामी प्रतिनिधिसभा निर्वाचनमा घण्टी चुनाव चिन्हमा मतदान गर्न आतुर रहेको प्रतिक्रिया दिएका थिए ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार चौरसियाले युवाको सहभागिताले राजनीतिक परिवर्तन सम्भव हुने उल्लेख गर्दै सुशासन, रोजगारी र विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले जेन–जी युवाहरू नै देशको भविष्य भएको भन्दै उनीहरूको सक्रिय भूमिकाले पर्सामा रास्वपाको जित सुनिश्चित हुने बताएका थिए ।
कार्यक्रममा स्थानीय नेता, पार्टी कार्यकर्ता, युवाहरू तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।