सिरहा क्षेत्र नम्बर ३ मा फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । यस निर्वाचनका लागि ४१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारहरू चुनावी प्रचार अन्तर्गत घरदैलो कार्यक्रममा जुटिरहेका छन् । तर, क्षेत्रका हरिपुर बेतौनाका मुसहर समुदाय भने आफ्नो आधारभूत आवश्यकताबारे चिन्तित छन् ।
गोलबजार नगरपालिका–१२ हरिपुर बेतौनामा ६० घरपरिवार वर्षौंदेखि पानी, शौचालय जस्ता आधारभूत सुविधाबाट वञ्चित छन् । चुनावी माहोल बढ्दै जाँदा उनीहरू ओत लाग्ने घर, शुद्ध पिउने पानी र शौचालयको व्यवस्था कसरी गर्ने भन्ने चिन्तामा छन् । शौचालय नहुँदा उनीहरूलाई अरूको खेतबारीमा गएर शौच गर्नुपर्ने बाध्यता छ भने आइरनयुक्त दूषित पानी पिउनुपर्छ ।
अघिल्ला वर्षमा उनीहरूले आफ्नै बलबुतामा चुलो अगाडि शौचालय र घरको बलेसीमै पानीका लागि चापाकल जडान गरेका थिए । तर, पाँच वर्षअघिको गोलबजार–लगडीगदियानी सडक विस्तारका क्रममा ती घर, शौचालय र चापाकलहरू भत्काइएका थिए । त्यसपछि उनीहरू घर, शौचालय र पिउने पानीको समस्या भोगिरहेका छन् । धेरैले भत्किएका घरहरू सुधार्न सकेका छैनन् भने कतिपयले पानीको व्यवस्था समेत गर्न सकेका छैनन् ।
गोलबजार नगरपालिकाले वर्षेनि पिउने पानी र सिँचाइका लागि करोडौं रुपैयाँ खर्च गर्दै आएको छ । प्रदेश र संघीय सांसदहरूले पनि राम्रै पहल गरेका छन् । तर, ६० घर दलित विपन्न सदाय परिवार आज पनि आइरनयुक्त दूषित पानी पिउन बाध्य छन् ।
स्थानीय ४७ वर्षीय प्रमोद सदाय भन्छन्, “जमिन छैन, एउटै घरमा खाट मात्र अट्ने गरी बारेर सुत्ने गरेका छौं। आँगन दुईजना राम्रोसँग उभिन मिल्नेसम्म पनि छैन । त्यति जमिनमा कता पानीको कल जडान गर्ने, कता शौचालय बनाउने ?”
संविधान जारी भएपछि दुईवटा निर्वाचन सम्पन्न भए पनि विकासका नाममा उनीहरूले पिउने पानी समेत पाएका छैनन् । “चुनावका बेला घर बनाइदिने, पानी, बिजुली, शिक्षा, स्वास्थ्य सबै दिने वाचा गर्छन्। चुनाव जितेपछि हामी गरिबले केही पाउँदैनौं ,” प्रमोदले गुनासो व्यक्त गरे ।
५० वर्षीय गंगावत सदायको घर सडक विस्तारको क्रममा भत्किएको थियो । उनी भन्छन्, “पानी र शौचालयको कुरा त परै, आर्थिक अभावका कारण भत्केको घर सुधार्न सकेको छैन। शौचालय नभएकाले छोरीबुहारीले लोकलाज भोग्नुपरेको छ । कहिलेकाहीँ खेतवालाको बेइज्जती पनि सहनुपर्छ ।”
गंगादेवी र प्रमोद यस बस्तीका प्रतिनिधि पात्र हुन् । पाँच कठ्ठा क्षेत्रफलमा फैलिएको ६० घरपरिवारको पीडा उस्तै छ । उनीहरू अब चुनावमा झुटा आश्वासन दिने होइन, काम गरेर देखाउने नेता छान्ने सोचमा छन् ।
सिरहा–३ मा प्रमुख उम्मेदवारहरूमा नेपाली कांग्रेसका सुभाषचन्द्र यादव, नेकपा एमालेका लीलानाथ श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका विश्वनाथ साह, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. शम्भु यादव, जनता समाजवादी पार्टी नेपालबाट अशेश्वर यादव, जनमत पार्टीबाट रोहित महतो रहेका छन् । यस क्षेत्रको चुनाव मुख्य रूपमा यी दलबिच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।
निर्वाचन क्षेत्रका मतदाता संख्या १,१९,२५० रहेको छ । यसमा ५५,८५९ महिला र ६३,३९१ पुरुष छन् । मतदानका लागि ५३ मतदानस्थल र १३६ मतदान केन्द्र तोकिएको छ ।