देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी लहर चलिरहँदा सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र चितवन–२ विशेष चर्चामा छैन । रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेको उम्मेदवार बालेन शाहको निर्वाचन क्षेत्र झापा–५ ले भने राष्ट्रिय राजनीति तताइरहेको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले लामो समय जित्दै आएको झापा–५ मा बालेन शाहले पनि उम्मेदवारी दिएका छन्।
चितवन–३ यसअघि चर्चामा रहँदै आएको निर्वाचन क्षेत्र हो, तर यसपटक त्यहाँ रास्वपाकी चर्चित नेतृ सोविता गौतम र भरतपुर महानगरपालिकाकी निवर्तमान मेयर रेनु दाहाल उम्मेदवार भएकाले ध्यान केन्द्रित भएको छ । अघिल्लो निर्वाचनमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई पराजित गराएका रास्वपाका हरि ढकालको निर्वाचन क्षेत्र–१ यसपटक कम चर्चामा छ ।
चितवनकी उपसभापति प्रभा ढकालका अनुसार चितवन–२ मा पार्टीको उम्मेदवार मैदानमा नभएकाले गतिविधि सुस्त देखिएको छ । तर उनीहरूले मतदातासँग नियमित भेटघाट र पार्टी प्रशिक्षण कार्यक्रम भने जारी राखेका छन् ।
प्रभा ढकालले रातोपाटीसँग भनिन्, “चितवन–३ मा उम्मेदवार घरदैलो कार्यक्रममा सहभागी हुनुहुन्छ। हाम्रो उम्मेदवार मैदानमा नहुँदा जति चर्चा पाउनुपर्ने पाएका छैनौं । सायद भोलि सभापति यहाँ आउनुहुन्छ होला । हामीले मतदातासँग भेटघाट र पार्टीका प्रशिक्षण काम जारी राखेका छौं ।”
माघ ५ गते जनकपुरमा आयोजित रास्वपाको उद्घोष सभामा रवि लामिछाने र बालेन शाह सँगै देखिएका थिए। तर बालेनले झापा–५ मा उम्मेदवारी दर्ता गरेपछि अहिले पूर्वी नेपालदेखि सुदूरपश्चिम र कर्णाली क्षेत्रमा चुनावी भ्रमणमा व्यस्त छन् । उनी कुनै सार्वजनिक मञ्च वा चुनावी कार्यक्रममा देखिएका छैनन् ।
यसैबीच, रविको स्वास्थ्य समस्याका कारण उनी केही समय सक्रिय छैनन् । सचिवालयका अनुसार उनले माघ १३ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा खुट्टामा लागेको चोट र ‘सेलुलाइटिस’को उपचार गराएका थिए। माघ १५ गते अस्पतालबाट डिस्चार्ज भएर अहिले घरमै आराम गरिरहेका छन्। सचिवालय सदस्य गणेश पराजुलीले सभापतिको स्वास्थ्य अवस्था सुधार भएको र आजै चितवन जाने तयारी भइरहेको जानकारी दिए ।
२०७९ को निर्वाचनमा रविले कांग्रेस र एमालेका प्रभावशाली नेतालाई फराकिलो मतान्तरले पराजित गरेका थिए। उनले ४९ हजार ३०० मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए। एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत प्राप्त गरेका थिए । समानुपातिकतर्फ रास्वपाले ३५ हजार ९४५ मत पाएको थियो ।
उपनिर्वाचनमा रविले अझ बढी मत ल्याएर विजयी भएका थिए । २०८१ वैशाख १० गते भएको उपनिर्वाचनमा उनले ५४ हजार १७६ मत प्राप्त गरेका थिए भने एमालेका निकटतम प्रतिद्वन्द्वी जितनारायण श्रेष्ठले ११ हजार २१४ मत पाएका थिए ।
अघिल्ला निर्वाचनमा उनी प्रचण्ड सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री भएका थिए । तर नागरिकता प्रकरणमा सर्वोच्च अदालतले त्रुटि भएको फैसला गरेपछि उनको सांसद पद माघ १३ गते खारेज भएको थियो ।
यसपटक प्रमुख राजनीतिक दलहरू एक्लै चुनावी मैदानमा होमिएका छन् । चितवन–२ मा एमालेले नयाँ अनुहार अस्मिता घिमिरेलाई, कांग्रेसले मिना कुमारी खरेललाई, नेकपा (कम्युनिस्ट)ले प्रताव गुरुङलाई र राप्रपाले जगदिश अधिकारीलाई उम्मेदवार बनाएका छन् ।
चुनावी मैदानमा रवि लामिछानेको मुद्दा र स्वास्थ्य कारणले सक्रिय नभएको अवस्थामा चितवन–२ विशेष चासोसाथ हेरिएको निर्वाचन क्षेत्र बनेको छ ।