बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा इन्जिनियर अरविन्द साह निर्वाचन मैदानमा उत्रिएका छन् ।
शिक्षा, सूचना प्रविधि, उद्यमशीलता तथा सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका साहको पृष्ठभूमि बहुआयामिक रहेको देखिन्छ । इन्जिनियर साहको जन्म वि.सं. २०४१ वैशाख ५ गते बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर ७ तेलकुवामा भएको हो । उनका बुवा श्याम किशोर प्रसाद साह र आमा अनिता देवी साह प्राथमिक तहका शिक्षक थिए । मध्यमवर्गीय पारिवारिक पृष्ठभूमिमा हुर्किएका साहको बाल्यकाल ग्रामीण परिवेशमै बितेको हो । सीमित साधनस्रोतका बाबजुद शिक्षाप्रति परिवारले गरेको विश्वासका कारण साह परिवारका तीनै सन्तान उच्च शिक्षासम्म पुग्न सफल भएका छन् ।
उनका जेठा दाजु पुल्चोक क्याम्पसबाट सिभिल इन्जिनियर, अरविन्द साह कम्प्युटर इन्जिनियर तथा कान्छा भाइ एमडी डाक्टर हुन् ।
रुखमुनिको कक्षादेखि पुल्चोकसम्म
साहको शैक्षिक यात्रा सहज थिएन । गाउँको प्राथमिक विद्यालयमा पूर्वाधारको अभावमा रुखमुनि प्लास्टिकको बोरा ओछ्याएर पढाइ सुरु गरेका उनले माध्यमिक शिक्षा बारा सदरमुकाम कलैयाबाट पूरा गरे । त्यसपछि वीरगन्ज हुँदै काठमाडौं पुगेका साहले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा छात्रवृत्तिमार्फत कम्प्युटर इन्जिनियरिङ विषयमा स्नातक अध्ययन पूरा गरेका हुन् । साथै, ग्रामीण विकास विषयमा स्नातकोत्तर अध्ययन पूरा गरिसकेका साह हाल सोही विषयमा विद्यावारिधि (पिएचडी) अध्ययनरत छन् ।
शून्यबाट सुरु भएको उद्यमशील यात्रा
पढाइसँगै उद्यमशीलताको बाटो रोजेका साहले सन् २००७ मा पुल्चोक क्याम्पसमा अध्ययनरत रहँदा चार जना साथी मिलेर ‘जानकी टेक्नोलोजी प्रालि’ स्थापना गरेका थिए । सोही कम्पनीमार्फत सुरु गरिएको ‘स्प्यारो एसएमएस’ सेवा विगत १९ वर्षदेखि देशभर सूचना पहुँचको माध्यम बनेको छ ।
यस्तै, सन् २०१७ मा सुरु गरिएको डिजिटल भुक्तानी सेवा ‘खल्ती’ पनि साह संलग्न प्रमुख प्रविधिगत परियोजनामध्ये एक हो । औपचारिक राजनीतिमा आउनुअघि उनी खल्तीका सह–संस्थापकसमेत थिए । हाल ‘खल्ती’ नेपालभर डिजिटल भुक्तानी प्रणालीका रूपमा प्रयोग हुँदै आएको छ । यसबाहेक सूचना प्रविधिसँग सम्बन्धित अन्य व्यवसायिक परियोजनामा पनि उनी संलग्न रहँदै आएका छन् ।
रोजगारी, प्रविधि र सामाजिक योगदान
सूचना प्रविधि क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न कम्पनी र परियोजनामार्फत साह संलग्न संस्थाहरूले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गरेको उनले बताएका छन् । उनी उद्यमशीलता र स्टार्टअप संस्कृतिको विकाससम्बन्धी कार्यक्रम, छलफल तथा प्रशिक्षणमा सक्रिय रूपमा सहभागी हुँदै आएका छन् । विशेषगरी युवामाझ स्टार्टअप इकोसिस्टम प्रवर्द्धन गर्न उनी निरन्तर क्रियाशील देखिन्छन् ।
कृषि र ग्रामीण अर्थतन्त्रसँग जोडिएको काम
ग्रामीण क्षेत्रको आर्थिक गतिविधिसँग जोडिँदै साह कृषि क्षेत्रमा पनि संलग्न छन् । ‘किसान एग्रो’ नामक कृषि–आधारित परियोजनामार्फत प्रविधिमैत्री कृषि, बेमौसमी तथा उच्च मूल्यका बाली उत्पादनसम्बन्धी काम अघि बढाइएको छ । सो परियोजनामार्फत ग्रामीण क्षेत्रमा कृषि व्यवसायीकरण र प्रविधिको प्रयोगबारे जानकारी गराउँदै आएको साहले बताएका छन् । कृषि क्षेत्रमा अपनाइएका नयाँ अभ्यासको अवलोकनका लागि विभिन्न सरोकारवाला पक्षको सहभागिता समेत रहेको छ ।
सम्मान तथा उपलब्धि
इन्जिनियर साहले विभिन्न समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका संस्थाबाट सम्मान प्राप्त गरेका छन् । नेपाल इन्जिनियर्स एसोसिएसनको २९औँ समितिद्वारा आयोजित ५१औँ इन्जिनियर दिवसका अवसरमा सन् २०१३ मा तत्कालीन उपराष्ट्रपति परमानन्द झाबाट ‘युवा व्यावसायिक पुरस्कार’ प्राप्त गरेका थिए ।
यसअघि सन् २००५ मा पुल्चोक क्याम्पसको स्वतन्त्र विद्यार्थी संघमा निर्वाचित भई विद्यार्थी हितसम्बन्धी गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेका थिए । यस्तै, सन् २०२२ मा मधेस प्रदेश सरकारले उद्यमशीलता तथा नवप्रवर्तन क्षेत्रमा योगदान पुर्याएको भन्दै उत्कृष्टता पुरस्कार प्रदान गरेको थियो ।
यसका साथै उनी गुगल बिजनेस ग्रुप पुरस्कारका लागि छनोट हुनुका साथै जलवायु लन्चप्याड कार्यक्रम र सुप्रविधा नवीकरणीय ऊर्जा पुरस्कारबाट पनि सम्मानित भएका छन् । उनले अन्तर्राष्ट्रिय स्तरका प्रविधि तथा जलवायु–सम्बन्धी कार्यक्रमहरूमा समेत सहभागिता जनाएका छन् ।
राजनीतिमा प्रवेश
शिक्षा, प्रविधि, उद्यमशीलता र सामाजिक क्षेत्रमा लामो समय संलग्न रहेका इन्जिनियर अरविन्द साह हाल प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचन प्रक्रियामा सहभागी छन् । उनले सार्वजनिक रूपमा शिक्षा, कृषि, सूचना प्रविधि, रोजगारी र ग्रामीण विकासलाई आफ्नो प्राथमिक एजेन्डाका रूपमा अघि सारेका छन् ।