आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने संसदको बैठक सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संसद भवनमै सञ्चालन हुने भएको छ ।
निर्वाचनपछिको संसद सञ्चालनका लागि सरकारले निर्माणाधीन संसद भवन उपलब्ध गराउने जानकारी गराइसकेको संसद सचिवालयका प्रवक्ता तथा सहसचिव एकराम गिरीले जानकारी दिए ।
आइतबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता गिरीले निर्माणाधीन संसद भवनका १२ वटा भवनमध्ये तत्कालका लागि ६ वटा भवन उपलब्ध गराइने जानकारी सरकारले दिएको बताए । उनका अनुसार प्रतिनिधिसभा गठन भएपछि राष्ट्रियसभाको बैठक पनि सोही भवनबाटै सञ्चालन हुनेछ ।
प्रवक्ता गिरीले निर्माणाधीन संसद भवनको करिब ९० प्रतिशत भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसकेको जानकारी दिँदै बाँकी काम चैतसम्म पूरा गर्नेगरी सरकारसँग निरन्तर समन्वय भइरहेको बताए ।
उनले निर्वाचनपछि गठन हुने प्रतिनिधिसभाको बैठक सञ्चालनका लागि संसद सचिवालयले अन्य विकल्प नहेरेको पनि स्पष्ट पारे । साथै, अत्याधुनिक प्रविधिसहित संसद सञ्चालनका लागि आवश्यक तयारी भइरहेको जानकारी दिए ।
प्रवक्ता गिरीले भने, “निर्वाचनपश्चात संसद बैठक कहाँ बस्छ भन्ने विषयमा धेरैको चासो छ । यस सम्बन्धमा सचिवालय नेपाल सरकारसँग निरन्तर छलफल गरिरहेको छ । पछिल्लो छलफलअनुसार निर्माणाधीन संसद भवनमै बैठक सञ्चालन गरिनेछ ।”
यसअघि काठमाडौंको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद बैठक सञ्चालन हुँदै आएको थियो । तर, जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीद्वारा आगजनी गरी भवन ध्वस्त पारिएपछि त्यहाँ बैठक बस्न नसकिएको हो । हाल राष्ट्रियसभाको १९औँ अधिवेशन सिंहदरबारस्थित कृषि समितिको हलबाट सञ्चालन भइरहेको छ ।