१६ वर्षमुनिका प्रयोगकर्तालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानुनअनुसार स्न्यापच्याटले चार लाख १५ हजार खाता बन्द गरेको छ ।
कम्पनीले सोमबार सार्वजनिक गरेको विवरणअनुसार जनवरी अन्त्यसम्म उक्त संख्यामा खाता बन्द गरिएको हो । यद्यपि, केही किशोर–किशोरीहरूले उमेर प्रमाणीकरण प्रणाली छल्न सक्ने सम्भावना रहेको भन्दै कम्पनीले चिन्ता व्यक्त गरेको छ ।
स्न्यापच्याटले अस्ट्रेलियाली नियामक निकायहरूलाई एप्लिकेसनमार्फत प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा जाँच गर्ने व्यवस्था लागू गर्न आग्रह गरेको छ । कम्पनीका अनुसार यसले ‘थप सुरक्षा उपाय’ का रूपमा काम गर्नेछ ।
नयाँ कानुनअनुसार स्न्यापच्याट, मेटा, टिकटक र युट्युबजस्ता प्लेटफर्महरूले नाबालिग प्रयोगकर्ताको खाता बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ । उक्त कानुन सन् २०२५ डिसेम्बर १० देखि लागू भएको हो ।
कानुनको पालना नगरेमा कम्पनीहरूले करिब ४९ करोड ५० लाख अस्ट्रेलियन डलर जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसअघि अस्ट्रेलियाको अनलाइन सुरक्षा नियामकले प्रविधि कम्पनीहरूले करिब चार लाख ७० हजार खाता ब्लक गरिसकेको जनाएको थियो ।
स्न्यापच्याटले दैनिक रूपमा अझ धेरै नाबालिग खाताहरू बन्द गरिरहेको जनाएको छ ।
यद्यपि, कम्पनीले कानुनमा ‘महत्त्वपूर्ण कमजोरी’ रहेको दाबी गरेको छ । उमेर अनुमान प्रणालीले दुईदेखि तीन वर्षको दायरामा मात्र सही नतिजा दिने भएकाले केही १६ वर्षमुनिका प्रयोगकर्ताले प्रणाली छल्न सक्ने तथा केही १६ वर्षभन्दा माथिका प्रयोगकर्ताले अनावश्यक रूपमा पहुँच गुमाउन सक्ने कम्पनीको भनाइ छ ।
स्न्यापच्याटले मेटासँग मिलेर अस्ट्रेलियालाई एप्लिकेसन स्टोरमै उमेर प्रमाणीकरण अनिवार्य गर्न सुझाव दिएको छ । कम्पनीका अनुसार यसले सुरक्षा प्रणालीलाई थप मजबुत बनाउनेछ ।
कम्पनीले पूर्ण प्रतिबन्ध उपयुक्त उपाय नभएको र आफ्नो प्लेटफर्मलाई सामाजिक सञ्जाल प्रतिबन्धको दायरामा राख्नु आवश्यक नभएको पनि जनाएको छ ।
स्न्यापच्याटले भनेको छ, “हाम्रो एप मुख्यतः युवा प्रयोगकर्तालाई नजिकका साथी र परिवारसँग जोडेर राख्न प्रयोग हुन्छ। ती सम्बन्ध विच्छेद गर्दा उनीहरू सुरक्षित र खुशी हुने छैनन् ।”