आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ सम्पन्न भएको छ ।
निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाका लागि आवश्यक मतपत्र छपाइ भइसकेको छ। जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा मतपत्र छपाइ कार्य नियमित रूपमा भइरहेको आयोगले जनाएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फका दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ यसअघि नै सम्पन्न भइसकेको छ । साथै, मतदाता शिक्षाका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र पनि छापिसकिएको आयोगले जानकारी दिएको छ ।
यसैबीच, निर्वाचन शिक्षा प्रदान गर्ने उद्देश्यले आयोगअन्तर्गत निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रको मतदाता शिक्षा एकाइले हालसम्म १५८ वटा सामग्री स्वीकृत गरी सार्वजनिक गरेको छ ।
उक्त सामग्री आयोगको आधिकारिक फेसबुक, एक्स (ट्विटर), टिकटक तथा युट्युबमार्फत सार्वजनिक गरिएको छ ।
मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला लक्षित यी सामग्रीले निर्वाचन प्रक्रियाको स्वच्छता अभिवृद्धि गर्नुका साथै नागरिकलाई आधिकारिक र विश्वासनीय सूचना प्रदान गर्ने तथा मिथ्या एवं भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरणमा सहयोग पुग्ने आयोगको विश्वास छ ।
त्यसैगरी, प्रतिनिधिसभा सदस्य निर्वाचनबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले निर्वाचन आयोगको समन्वयमा परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित कूटनीतिक नियोग तथा संयुक्त राष्ट्र संघीय निकायका प्रमुख एवं प्रतिनिधिलाई ब्रिफिङ गरेको छ ।
उक्त कार्यक्रममा आयोग र गृह मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा निर्वाचनको वातावरण, आयोगबाट भएका तयारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षणलगायत विषयमा जानकारी गराइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।