पाकिस्तानले पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप २०२६ मा सहभागी गराउने निर्णय गरेको छ । तर, समूह चरणमा भारतसँग श्रीलंकामा हुने खेल नखेल्ने जनाएको छ ।
फेब्रुअरी १५ (फागुन ३) मा तय भएको भारतसँगको खेल बहिष्कार गर्ने निर्णय पाकिस्तान सरकारले आफ्नो आधिकारिक एक्स (पूर्व ट्विटर) खातामार्फत सार्वजनिक गरेको हो ।
यसअघि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नक्वीले पत्रकार सम्मेलनमार्फत आईसीसीले दोहोरो मापदण्ड अपनाएको आरोप लगाउँदै भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को प्रभावमा रहेको दाबी गरेका थिए ।
यो निर्णय पाकिस्तानका प्रधानमन्त्री मियाँ मुहम्मद शेहबाज शरीफ र पीसीबी अध्यक्ष नक्वीबीच भएको महत्वपूर्ण बैठक सम्पन्न भएको केही मिनेटमै सार्वजनिक गरिएको हो । नक्वीले गएको महिना पनि प्रधानमन्त्रीसँग भेट गरी विश्वकप सहभागिताबारे छलफल गरेका थिए । त्यस बेला उनले अन्तिम निर्णय जनवरी ३० वा फेब्रुअरी २ सम्म सार्वजनिक गरिने बताएका थिए ।
यसअघि आईसीसीले बंगलादेशलाई हटाएर स्कटल्यान्डलाई विश्वकपमा समावेश गरेपछि पाकिस्तानले पनि प्रतियोगितामा सहभागिता पुनः विचार गरिरहेको थियो । बंगलादेशले भारत भ्रमण गर्न अस्वीकार गरेपछि यस्तो निर्णय लिइएको बताइएको छ ।
बंगलादेश क्रिकेट बोर्डका अनुसार बीसीसीआईको निर्देशनपछि खेलाडी मुस्ताफिजुर रहमानलाई आईपीएल टोली कोलकाता नाइट राइडर्सबाट हटाइएपछि बंगलादेशले असन्तुष्टि जनाउँदै यस्तो कदम चालेको हो ।
विभिन्न छलफलका बाबजुद सहमति हुन नसकेपछि आईसीसीले प्रतियोगिताको तालिका यथावत् रहने भन्दै बंगलादेशको अपिल अस्वीकार गरेको थियो र २४ घण्टाको समयसीमा पनि दिएको थियो ।
भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ फेब्रुअरी ७ (माघ २४) देखि सुरु हुनेछ । यस प्रतियोगितामा नेपालसहित २० टोली सहभागी हुनेछन् ।