तोकिएको स्थानमा भन्दा फरक ठाउँमा कार्यक्रम सञ्चालन गरेको भन्दै दुर्गा प्रसाईंको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।
चितवनको चौबिसकोठी चोकमा कार्यक्रम सुरु भएपछि प्रहरीले हटाउन खोज्दा केहीबेर प्रहरी र प्रसाईं पक्षबीच तनावपूर्ण अवस्था सिर्जना भएको थियो । त्यस क्रममा प्रहरीले प्रसाईंका ३ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिएका छन् ।
प्रहरी नायब उपरीक्षक खनालका अनुसार, “प्रशासनले स्वीकृति दिएको ठाउँ भन्दा फरक ठाउँमा कार्यक्रम गर्न थालेपछि प्रहरीले हटाउन खोजेको थियो, ३ जनालाई नियन्त्रणमा लिएका छौं ।”
प्रशासनले दुर्गा प्रसाईंलाई केन्द्रीय बस टर्मिनल चोकको एउटा कुनामा कार्यक्रम गर्न अनुमति दिएको थियो । तर प्रसाईं पक्षले चौबिसकोठी चोक परिक्रम गरेर बसपार्क चोकमा कार्यक्रम गर्ने माग गरेपछि प्रहरीले चौबिसकोठी परिक्रमाका लागि समेत अनुमति दिएको थियो । तर उनीहरूले चौबिसकोठी चोक परिक्रमा नगरी त्यही ठाउँमा कार्यक्रम गर्न लागेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।
त्यसअघि बोल्दै प्रसाईंले राजसंस्था स्थापना नभएसम्म निर्वाचन नहुने बताएका थिए । उनीहरू बसपार्कदेखि चौबिसकोठी चोकसम्म र्याली पनि निकालेका थिए ।