राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार रामाकान्त चौरसियाले घरदैलो अभियानलाई तीव्र बनाउँदै जनसम्पर्क विस्तार गरेका छन् ।
रास्वपाले प्रधानमन्त्रीका रूपमा बालेन शाहको नाम अघि सारेपछि देशभर पार्टीप्रति जनआकर्षण बढ्दै गएको छ । सोही सन्दर्भमा उम्मेदवार चौरसियाले आज बिहानदेखि साँझसम्म जगरनाथपुरका विभिन्न गाउँहरूमा घरदैलो कार्यक्रम सञ्चालन गरेका हुन् ।
घरदैलो अभियानका क्रममा स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट गर्दै उनले पार्टीका नीति, कार्यक्रम तथा भावी योजनाबारे जानकारी गराएका थिए । अभियानमा स्थानीय जनताको उल्लेख्य सहभागिता देखिएको थियो ।
यसअघि हिजो मात्र पर्साको दोस्रो सदरमुकामका रूपमा चिनिने पोखरियामा जेन–जी युवासहित तीन सयभन्दा बढी व्यक्तिलाई पार्टी प्रवेश गराइएको थियो । यसले पर्सा–३ मा रास्वपाप्रतिको जनसमर्थन थप बलियो बनेको संकेत गरेको छ । उम्मेदवार चौरसियाका अनुसार, स्थानीयवासीहरू परिवर्तनको आशासहित रास्वपामा आबद्ध भइरहेका छन् । घरदैलो अभियानका क्रममा मतदाताहरूले मुलुकमा आमूल परिवर्तनका लागि आगामी प्रतिनिधिसभा निर्वाचनमा घण्टी चुनाव चिन्हमा मतदान गर्न आतुर रहेको प्रतिक्रिया दिएका छन् ।
उनले जेन–जी युवाहरू नै देशको भविष्य भएको उल्लेख गर्दै उनीहरूको सक्रिय सहभागिताले पर्सामा रास्वपाको जित सुनिश्चित हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा स्थानीय नेता, पार्टी कार्यकर्ता, युवा तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।