राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा निर्वाचन क्षेत्र नं. ३ मा जनसम्पर्क अभियानलाई तीव्र बनाएको छ ।
सोही क्रममा प्रतिनिधिसभा उम्मेदवार रामाकान्त चौरसियाले भावी प्रधानमन्त्रीका दाबेदार बालेन शाहका दाइ कौशल साहसँगै विभिन्न गाउँहरूमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । रास्वपाले बालेन शाहको नाम प्रधानमन्त्रीका रूपमा अघि सारेपछि देशभर पार्टीप्रति जनआकर्षण बढ्दै गएको छ । त्यसको प्रभाव पर्सा निर्वाचन क्षेत्र नं. ३ मा समेत देखिन थालेको उम्मेदवार चौरसियाले बताएका छन् । बिहानदेखि बड्का झौवा, छोट्का झौवा, इटियाही लगायतका गाउँहरूमा घरदैलो अभियान सञ्चालन गरिएको हो ।
घरदैलोका क्रममा उम्मेदवार चौरसियाले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै रास्वपाको नीति, कार्यक्रम, सुशासन, रोजगारी सिर्जना, शिक्षा सुधार र भ्रष्टाचार नियन्त्रणसम्बन्धी प्रतिबद्धताबारे जानकारी गराएका थिए । स्थानीय समस्याहरू सुन्दै समाधानका लागि संसद्मार्फत पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
अभियानमा सहभागी बालेन शाहका दाइ कौशल साहले देशमा विद्यमान राजनीतिक विकृतिलाई अन्त्य गर्न नयाँ सोच र इमानदार नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि रास्वपा नै उपयुक्त विकल्प भएको बताए । उनले जनताको विश्वास र साथले मात्रै मुलुकमा वास्तविक परिवर्तन सम्भव हुने धारणा राखेका छन् ।
यसअघि पर्साको दोस्रो सदरमुकामका रूपमा चिनिने पोखरियामा जेन–जी युवासहित तीन सयभन्दा बढी व्यक्ति रास्वपामा प्रवेश गरेका थिए । युवाहरूको बढ्दो आकर्षणले पर्सा ३ मा रास्वपाको आधार थप बलियो बन्दै गएको स्थानिय बताउँछन् ।
उम्मेदवार चौरसियाका अनुसार स्थानीयवासीहरू परम्परागत राजनीतिबाट आजित भई परिवर्तनको आशासहित रास्वपामा आबद्ध भइरहेका छन् । घरदैलोका क्रममा मतदाताहरूले आगामी प्रतिनिधिसभा निर्वाचनमा घण्टी चुनाव चिन्हमा मतदान गरेर आमूल परिवर्तनको सुरुआत गर्न चाहेको प्रतिक्रिया दिएको उनले बताए ।
उनले जेन–जी युवाहरू नै मुलुकको भविष्य भएको उल्लेख गर्दै उनीहरूको सक्रिय सहभागिताले पर्सा निर्वाचन क्षेत्र नं. ३ मा रास्वपाको जित सुनिश्चित हुने विश्वास व्यक्त गरे । घरदैलो तथा जनसम्पर्क कार्यक्रममा स्थानीय नेता, पार्टी कार्यकर्ता, युवा, महिला तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।