राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन शाहले प्रदेश संरचनामा न्यून खर्च रहेको बताएका छन् ।
झापा–५ अन्तर्गत कमल गाउँपालिकामा स्थानीयहरूसँगको अन्तरक्रियाका क्रममा उनले मन्त्री र सांसदले लिने तलबले देश नडुब्ने स्पष्ट पारे । ‘प्रदेश संरचनामा न्यून खर्च छ। तलबमा जाने खर्च पनि न्यून नै हो,’ शाहले भने, ‘मन्त्री र सांसदले खाएको तलबले देश डुबेको होइन ।’
स्थानीय एक सहभागीले प्रदेश संरचना खारेज गरे शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा बजेट पर्याप्त हुने धारणा राखेपछि त्यसको जवाफमा शाहले संघीय संरचनाको खर्चलाई गलत रूपमा व्याख्या गरिएको बताए । उक्त कार्यक्रममा एक स्थानीयले आफू २० वर्ष खाडी मुलुकमा बसेर काम गरेको तर स्वदेश फर्किएपछि लगानी गर्न पर्याप्त पूँजी नबचेको गुनासोसमेत गरेका थिए ।
साथै उनले शिक्षा र स्वास्थ्य सेवालाई पूर्ण रूपमा नि:शुल्क बनाउन सकिने सम्भावनाबारे प्रश्न गरेका थिए । त्यसको जवाफमा शाहले विपन्न वर्गका विद्यार्थीलाई शिक्षामा सहयोग हुँदै आएको उल्लेख गर्दै राज्यको सीमित स्रोतका कारण सबै सेवा पूर्ण रूपमा नि:शुल्क गर्न कठिन रहेको बताए । ‘शिक्षा नि:शुल्क गर्ने भनेर संविधानमा उल्लेख छ तर त्यसका लागि आवश्यक बजेट छैन,’ उनले भने, ‘खल्तीमा पैसा नभएकाले पनि शिक्षा र स्वास्थ्य पाउनुपर्छ, र पैसा भएकाले व्यवसाय गर्न पाउनुपर्छ ।’
उनले सामाजिक न्याय र आर्थिक सन्तुलन कायम गर्दै नीति निर्माण गर्नुपर्नेमा जोड दिए ।