नेपालमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदातालाई प्रभावित पार्ने उद्देश्यले भारतीय तथा नेपाली नक्कली नोट छापिएको घटना सार्वजनिक भएको छ ।
भारत–नेपाल सीमा क्षेत्र अन्तर्गत हरैया थानाका थानाध्यक्ष किशनकुमार पासवानले उक्त गिरोहको पर्दाफास गरेका हुन् । प्रहरीले कारबाही गर्दै गिरोहका १० सदस्यलाई पक्राउ गरेको दाबी गरेको छ ।
पक्राउ परेकाहरूको साथबाट करिब २५ लाख रुपैयाँ बराबरका नेपाली नक्कली नोट, १८ हजार ५०० रुपैयाँ भारतीय नक्कली नोट, एउटा कार, मोटरसाइकल तथा नक्कली नोट छाप्न प्रयोग हुने रसायन बरामद गरिएको प्रहरीले जनाएको छ ।
रक्सौलका एसडिपिओ मनीष आनन्दका अनुसार, नेपाल हुँदै रक्सौल क्षेत्रमा भारतीय र नेपाली नक्कली नोटको कारोबार हुन लागेको प्रहरीलाई गोप्य सूचना प्राप्त भएको थियो । सूचना अनुसार हरैया थानाध्यक्षको नेतृत्वमा सघन सवारी जाँच अभियान सञ्चालन गरिएको थियो ।
यसै क्रममा बौधीमाई स्थाननजीकै मोटरसाइकलमा सवार दुई युवकलाई शंका लागेर प्रहरीले रोकी खानतलासी गर्दा १८ हजार ५०० भारतीय नक्कली नोट बरामद भएको थियो ।
सोधपुछका क्रममा उनीहरूले आफूहरू सीतामढी जिल्लाको मेजरगंज क्षेत्रमा नक्कली नोटको कारोबारमा संलग्न रहेको स्वीकार गरेका छन् ।
पक्राउ परेकाहरूमा नेपाली नागरिक: तिलकबहादुर थिङ, साजन कुमार, सरोज कुमार; र भारतीय नागरिक: दिलीपकुमार सिंह, श्रीदेव महतो, रोशन कुमार, राकेश सिंह, साहेब कुमार उर्फ लाल, विकासकुमार पटेल, महमद असलम रहेका छन् ।
उनीहरूको बयानका आधारमा डिआइओ तथा एसएसबीको सहयोगमा सीतामढीको मेजरगंज क्षेत्रमा छापा मार्दा विभिन्न स्थानबाट २५ लाख रुपैयाँ बराबरका नेपाली नक्कली नोटसहित थप आठजना पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ ।
पक्राउ परेका अभियुक्तहरूले पछिल्लो एक वर्षदेखि मेजरगंज हुँदै नेपालमा नक्कली नोटको तस्करी गर्दै आएको बताएका छन् । उनीहरूले भने आफूहरू पहिलो खेपको तस्करीमा नै पक्राउ परेको बताएको दाबी प्रहरीले जनाएको छ ।
अनुसन्धान अनुसार, यस गिरोहमा २० भन्दा बढी सदस्य सक्रिय छन्, जसमा हालसम्म १० जना पक्राउ परेका छन् । गिरोहको मुख्य योजनाकार राकेश सिंह रहेको खुलेको छ । उनी हालै जेलबाट रिहा भएका थिए र जेलमै रहँदा पनि गिरोह सञ्चालन गर्दै आएका थिए ।
यसअघि एसटिएफ टोलीमाथि गोली चलाएको आरोपमा उनी १७ वर्ष जेल बसेका थिए । पक्राउ परेकामध्ये असलमले पनि पहिले नक्कली नोटमार्फत रकम बढाउने मुद्दामा एक वर्ष जेल बसेको स्वीकार गरेका छन् ।
भारतीय प्रहरीले यति ठूलो परिमाणमा नेपाली नक्कली नोट बरामद गरेपछि यसले नेपालको अर्थतन्त्र र दुवै देशको सुरक्षा व्यवस्थामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।