म्यानमारले अनलाइन स्क्यामिङ केन्द्र (टेलिकम ठगी तथा अनलाइन जुवा) मा काममा लगाइएका १८ जना नेपालीलाई एक वर्ष कैद सजाय दिएको छ ।
उनीहरू म्यावाडी क्षेत्रस्थित श्वे कोक्को र केके पार्कमा अवैध रूपमा सञ्चालनमा रहेका स्क्यामिङ केन्द्रमा काम गर्दै आएका थिए ।
म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरेका अनुसार थाइल्यान्ड सीमा नजिक रहेको म्यानमारको फाइन क्षेत्रमा १८ जना नेपालीलाई जेलमा राखिएको हो ।
‘१८ जना नेपालीसहित ४९५ जना विदेशी नागरिकलाई एक वर्ष जेल सजाय दिने निर्णयसम्बन्धी पत्र हामीलाई प्राप्त भएको छ । ती नेपालीहरू दुई महिनादेखि जेलमा छन्,’ राजदूत घिमिरेले बताए । ‘यस विषयमा विस्तृत जानकारी अझै प्राप्त भएको छैन ।’
यसअघि म्यानमारका स्क्यामिङ केन्द्रमा बन्धक बनाएर काममा लगाइएका विदेशी नागरिकलाई उद्धार गरी स्वदेश पठाउने गरिएको थियो। तर, नेपालीसहित १८ जनालाई एक वर्ष कैद सजाय सुनाइएको यो पहिलो घटना हो ।
राजदूत घिमिरेले यस विषयमा विस्तृत जानकारी लिन सम्बन्धित निकायसँग औपचारिक संवादका लागि समय माग गरिएको जानकारी दिए। ‘उनीहरूलाई कुन आधारमा जेल सजाय दिइएको हो भन्ने विषय बुझ्ने प्रयास भइरहेको छ,’ उनले भने ।
म्यानमारका अनलाइन स्क्यामिङ केन्द्रबाट थाइल्यान्ड र म्यानमारको संयुक्त प्रयासमा उद्धार कार्य भइरहेको छ। यसमा म्यानमार र थाइल्यान्डस्थित नेपाली दूतावासले सहजीकरण गर्दै आएका छन् ।
दूतावासका अनुसार ती केन्द्रहरूमा अझै कति नेपाली छन् भन्ने यकिन हुन सकेको छैन । हालसम्म आर्थिक वर्ष २०८०/८१ मा ६८ जना, २०८१/८२ मा १५६ जना र चालु आर्थिक वर्षमा १४४ जना नेपालीको उद्धार भइसकेको छ। उद्धार गरिएकामध्ये १७ देखि ४१ वर्ष उमेर समूहका रहेका छन् ।
दूतावासका अनुसार ती नेपालीहरू स्क्यामिङ केन्द्रमा दुई महिनादेखि १८ महिनासम्म आबद्ध रहेको पाइएको छ ।
पीडितहरू विशेषज्ञ, डिजिटल मार्केटिङ तथा ग्राहक सेवा प्रतिनिधिका रूपमा आकर्षक रोजगारीको विज्ञापनमार्फत आवेदन दिई म्यानमार पुगेका थिए ।
एक पीडितका अनुसार, ‘हामीलाई कानुनी रूपमा प्रवेश गराएर केके पार्क लगियो। त्यहाँ पुगेपछि पासपोर्ट खोसियो र कडा सुरक्षाकर्मीको निगरानीमा जबर्जस्ती काममा लगाइयो ।’
कम्बोडिया–थाइल्यान्ड, म्यानमार–थाइल्यान्ड सीमा क्षेत्र तथा लाओसमा रहेका स्क्यामिङ केन्द्रमा नेपालीसहित विभिन्न देशका नागरिक अलपत्र परिरहेको सूचना आएपछि बैंककस्थित नेपाली दूतावासले २०८० साउन २३ गतेदेखि निरन्तर ट्राभल एडभाइजरी जारी गर्दै आएको छ ।
त्यसपछि अलपत्र परेका नेपालीलाई थाइल्यान्ड सरकारसँगको समन्वयमा मानव तस्कर पीडितका रूपमा उद्धार गर्न थालिएको हो ।
म्यानमार सरकारले टेलिकम ठगी र अनलाइन जुवालाई राष्ट्रिय प्राथमिकताका अपराधका रूपमा लिएर नियन्त्रण अभियान तीव्र बनाइरहेको छ ।