प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मौसम प्रतिकूल भए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन गराइने बताएकी छन् ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१ स्थित हात्तिखोरमा आयोजित राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भएर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउन सरकारले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
उनले भनिन्, “विशेषगरी हिमाली जिल्लामा मौसम अनुकूल नभएमा दोस्रो चरणमा निर्वाचन गराउँछौं ।” साथै, कम मतदाता भएका स्थानमा सवारीसाधन प्रयोग गरी मतदाता ओसारेर भए पनि निर्वाचन सम्पन्न गरिने बताइन् ।
प्रधानमन्त्री कार्कीले थपिन् कि अत्यन्तै कठिन अवस्था सिर्जना भएमा दोस्रो चरणमा निर्वाचन गराउने विकल्प सरकारले विचार गर्न सक्नेछ । तर हालसम्म कुनै कारणले निर्वाचन सार्ने विषयमा प्रवेश नभएकोले नागरिकहरूले ढुक्क भएर आगामी फागुन २१ गते मतदानमा भाग लिन उनले आग्रह गरे ।
प्रधानमन्त्री कार्कीले समयमै निर्वाचन सम्पन्न गरी नवनिर्वाचित प्रतिनिधिले राज्य व्यवस्था सम्हाल्दै देशलाई नयाँ दिशातर्फ अघि बढाउनेमा आफू विश्वस्त रहेको पनि व्यक्त गरे ।