पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार सुशिल कुमार कानुले बहुदरमाई नगरपालिका वडा नम्बर–४, डकैला बहुअरिमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
कार्यक्रमअन्तर्गत कानुले स्थानीय बासिन्दासँग व्यक्तिगत भेटघाट गर्दै आफ्नो पार्टीको नीति, सिद्धान्त र आगामी बालेन सरकार गठनको दृष्टिकोणबारे जानकारी दिएका थिए । उनले आगामी निर्वाचनमा जनताको मतबाट परिवर्तन ल्याउने लक्ष्यसहित रास्वपा प्रतिवद्ध रहेको बताए । स्थानीय बासिन्दासँगको अन्तरक्रियामा कानुले शिक्षा, स्वास्थ्य, कृषि, सडक र आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने योजना प्रस्तुत गरेका थिए । उनले विशेषगरी गाउँका किसानहरूलाई प्रोत्साहन गर्ने, मल तथा बीउ सहज उपलब्ध गराउने र युवालाई रोजगारीका अवसर सृजना गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा वडा–४ का महिला समूह, युवा, किसान तथा विभिन्न पेशाका स्थानीयको सहभागिता उल्लेखनीय रहेको थियो। सहभागीहरूले उम्मेदवार कानुलाई आफ्नो क्षेत्रको समस्याबारे जानकारी गराएका थिए भने कानुले तिनीहरूको समस्याको समाधानको लागि आफ्नो काम निरन्तर जारी रहने आश्वासन दिएका थिए ।
उम्मेदवार कानुले निर्वाचन अभियानलाई जनसरोकार केन्द्रित राख्दै घरदैलो कार्यक्रम, भेटघाट निरन्तर गर्दै जनताको विश्वास जित्ने रणनीति अघि बढाइरहेका छन् ।