आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन बुधबारदेखि चारवटै सुरक्षा निकाय एकीकृत रूपमा परिचालित हुने भएका छन् । नेपाली सेनाको संयोजनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग निर्वाचन सुरक्षामा खटिनेछन् ।
सरकारले यसअघि नै “प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२” स्वीकृत गरी कार्यान्वयनमा ल्याइसकेको छ । निर्वाचन आउन अब एक महिना मात्र बाँकी रहँदा सुरक्षा व्यवस्थालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने उद्देश्यले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी सुरक्षा निकाय परिचालन गरिएको हो ।
एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि सुरक्षामा खटाइनेछन् । मतदानस्थलको भित्री घेराको सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीले गर्नेछन् भने दोस्रो घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ । सशस्त्र प्रहरीले नेपाली सेना र नेपाल प्रहरीसँग समन्वय गर्दै सुरक्षा व्यवस्था मिलाउनेछ ।
नेपाली सेनाले बाहिरी सुरक्षा घेराको जिम्मेवारी सम्हाल्नेछ । निर्वाचनका लागि सेनाले १६५ वटै निर्वाचन क्षेत्रमा बुधबारदेखि परिचालन सुरु गर्ने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर ११ गते प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयअनुसार निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको थियो ।
सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार आवश्यकताअनुसार ‘वेस’ खडा गरिने र संयुक्त गस्तीसमेत गरिनेछ । निर्वाचनका लागि करिब ८० हजार सैनिक जनशक्ति परिचालन गरिने तयारी गरिएको छ ।
एकीकृत सुरक्षा योजनाअनुसार सेना निर्वाचनअघि, मतदानका दिन र निर्वाचनपछिका तीन चरणमा परिचालित हुनेछ । निर्वाचनपूर्व मतपत्र छपाइ, ढुवानी, मतदानस्थल सुरक्षा, मतपेटिका ढुवानी तथा मतगणनास्थल सुरक्षाको जिम्मेवारी सेनाले लिनेछ । साथै विमानस्थल, कारागारलगायत संवेदनशील संरचनाको सुरक्षा पनि सेनाले गर्नेछ ।
मतदानका समयमा नेपाली सेना तेस्रो सुरक्षा घेरामा रही राजनीतिक दल, उम्मेदवार, मतदाता र कर्मचारीलाई सुरक्षाको प्रत्याभूति दिनेछ । आसन्न निर्वाचनमा तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन आयोगले माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरिसकेको छ ।
यसपटक कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम छन् । जसमा ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० अन्य मतदाता रहेका छन् ।
देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनमा नेपाल प्रहरीका ७७ हजार जनशक्ति परिचालित हुनेछन् । साथै एक लाख ३३ हजार निर्वाचन प्रहरी भर्ना गरिएको छ ।
निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको छ । २ हजार ८४५ मतदानस्थल सामान्य, ४ हजार ४४२ संवेदनशील र ३ हजार ६८० अतिसंवेदनशील सूचीमा परेका छन् ।
सशस्त्र प्रहरीतर्फ ३४ हजार ५७६ जना नियमित र १५ हजार ११० निर्वाचन प्रहरी गरी कुल ४९ हजार ६८६ जना परिचालित हुनेछन् । सशस्त्र प्रहरीले कुनै पनि अप्रिय घटना हुन नदिन उच्च सतर्कता अपनाइएको र १० मिनेटभित्र घटनास्थलमा पुग्ने व्यवस्था मिलाइएको जनाएको छ । सरकार र सुरक्षा निकायहरूले निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र विश्वसनीय बनाउन पूर्ण तयारी गरिएको दाबी गरेका छन् ।