प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलहरूले पेस गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको पाइएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम बन्दसूचीमा एक हजार ७ सय ७२ जना महिला उम्मेदवार रहेका छन् भने एक हजार ३ सय ६३ जना पुरुष उम्मेदवार रहेका छन् ।
समानुपातिक प्रणालीतर्फ कूल ६३ राजनीतिक दल सहभागी भएका छन् । आयोगले यस निर्वाचनका लागि ५७ वटा निर्वाचन चिन्ह कायम गरेको जनाएको छ ।
आयोगका अनुसार अन्तिम सूचीअनुसार कूल तीन हजार १ सय ३५ जना उम्मेदवार कायम भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २९ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १६ को उपनियम (२) बमोजिम अन्तिम नामावली प्रकाशन गरिएको हो ।
आयोगले विभिन्न कारण देखाउँदै ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको जनाएको छ । हटाइएकामध्ये कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१ जना, प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका २५ जना रहेका छन् ।
त्यस्तै, तोकिएको जरिवाना भुक्तान नगरेका १० जना, मतदाता नामावलीमा पिछडिएको क्षेत्रमा नपरेका एक जना तथा सम्बन्धित राजनीतिक दलको अनुरोधमा नाम हटाइएका १० जना उम्मेदवारको नाम पनि बन्दसूचीबाट हटाइएको आयोगले जनाएको छ ।