स्वदेशी उत्पादनको उपभोग बढाउन र महिला उद्यमशीलताको विकासलाई अघि बढाउन महिला उद्यमी महासंघ र नेपाल उद्योग परिसंघबीच सहकार्य आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।
नेपाल उद्योग परिसंघद्वारा आयोजित महिला उद्यमी महासंघका नवनिर्वाचित पदाधिकारीहरूको स्वागत कार्यक्रममा सरोकारवालाहरूले आपसी सहमति र गहन सहकार्यको महत्वमा जोड दिएका हुन् ।
परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले महिला उद्यमशीलताको विकाससँगै समग्र आर्थिक विकासका लागि सहकार्य अपरिहार्य भएको बताए। उनले भने,"परिसंघले ‘मेक इन नेपाल’ स्वदेशी अभियान सञ्चालन गरिरहेको छ । अब महिला उद्यमी महासंघसँग गहन सहकार्य गर्दै अगाडि बढ्नुपर्छ ।"
महासंघकी नवनिर्वाचित अध्यक्ष दर्शना श्रेष्ठले महिला उद्यमशीलताको क्षेत्रमा सहकार्य आवश्यक भएको बताइन् र महासंघ र परिसंघबीच विभिन्न क्षेत्रहरूमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।
सो अवसरमा सहकार्यका सम्भावित क्षेत्रहरू लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रममा परिसंघका उपाध्यक्ष अमित मोर, महानिर्देशक घनश्याम ओझा लगायत अन्य पदाधिकारीको उपस्थिति रहेको थियो ।