भदौ २३ र २४ गतेका आन्दोलनका क्रममा मृत्यु भएका ४२ जना व्यक्तिका परिवारलाई सहरी विकास मन्त्रालयले मासिक २१ हजार ८०० रुपैयाँको दरमा पेन्सन निकासा गरेको छ ।
आन्दोलनका क्रममा जम्मा ७६ जनाको मृत्यु भएको थियो । त्यसमा जेलबाट भागेका व्यक्ति र तीन जना प्रहरी बाहेकका सबैलाई सहिद घोषणा गरिएको थियो । यसरी सहिद घोषित ४२ जनाका परिवारलाई मासिक पेन्सन प्रदान गरिएको हो ।
मन्त्रालयका प्रवक्ता नारायण रेग्मीका अनुसार, “उहाँहरूलाई मासिक २१ हजार ८०० र वर्षमा १३ महिनाका दरले १० वर्षको लागि ११ करोड ९० लाख २८ हजार रुपैयाँ आवश्यक पर्छ । यो रकम पुनर्निर्माण कोषबाट निकासा गरिएको हो ।”
उक्त रकम निकासाका लागि अर्थ मन्त्रालयसँग छलफल गरिएको थियो । तर हालसम्म मन्त्रालयको औपचारिक स्वीकृति बिना नै सहरी विकास मन्त्रालयले पुनर्निर्माण कोषबाट रकम निकासा गरेको हो । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेले भने, “राहतका लागि कुनै पनि फाइल अहिले सम्म अर्थ मन्त्रालयले स्वीकृत गरेको छैन ।”