आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले आज बुधबारदेखि देशभर चारवटै सुरक्षा निकाय एकीकृत रूपमा परिचालित भएका छन् ।
नेपाली सेनाको संयोजनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागलाई मैदानमा उतारिएको हो । सरकारले यसअघि नै निर्वाचनलाई लक्षित गर्दै ‘एकीकृत सुरक्षा योजना–२०८२’ स्वीकृत गरी कार्यान्वयनमा ल्याइसकेको छ । निर्वाचन आउन एक महिना मात्र बाँकी रहँदा सुरक्षा व्यवस्था अझ सुदृढ, चुस्त र प्रभावकारी बनाउने योजनाअनुसार आजदेखि चारवटै सुरक्षा निकायलाई संयुक्त रूपमा परिचालन गरिएको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राख्दै निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि सुरक्षा व्यवस्थामा खटाइनेछ । एकीकृत सुरक्षा योजनाअनुसार मतदानस्थलको भित्री घेराको सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीले गर्नेछन् भने दोस्रो सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बल नेपालले सम्हाल्नेछ । बाहिरी सुरक्षा घेराको जिम्मेवारी नेपाली सेनाको हुनेछ ।
नेपाली सेनाका अनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा आजदेखि सेना परिचालित गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर ११ गते प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयअनुसार निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको थियो । सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचन सुरक्षालाई केन्द्रमा राखी आवश्यकताअनुसार सेनाका ‘बेस’ स्थापना गरिने र संयुक्त गस्तीसमेत सञ्चालन गरिनेछ । निर्वाचनका लागि करिब ८० हजार सैनिक जनशक्ति परिचालन गर्ने तयारी गरिएको सेनाले जनाएको छ ।
एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचनपूर्व, मतदानका दिन र निर्वाचनपछिको गरी तीन चरणमा सुरक्षा व्यवस्था मिलाइनेछ । यस क्रममा मतपत्र छपाइ तथा ढुवानी, मतदानस्थलको सुरक्षा, मतपेटिका ढुवानी तथा मतगणनास्थलको सुरक्षा जिम्मेवारी पनि नेपाली सेनाले सम्हाल्नेछ । त्यसैगरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको समन्वयमा विमानस्थल, कारागारलगायतका महत्त्वपूर्ण संरचनाको सुरक्षा व्यवस्था पनि कडा बनाइने सेनाले जनाएको छ । मतदानका दिन नेपाली सेना तेस्रो सुरक्षा घेरामा रही राजनीतिक दल, उम्मेदवार, मतदाता तथा निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षामा खटिनेछ ।
निर्वाचन आयोगका अनुसार आसन्न निर्वाचनमा तीन हजार ४०६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । आयोगले यही माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरिसकेको छ । यस निर्वाचनका लागि कूल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम रहेका छन्, जसमा ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० अन्य मतदाता छन् । देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन् । निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीबाट ७७ हजार जनशक्ति परिचालन गरिनेछ भने थप एक लाख ३३ हजार निर्वाचन प्रहरी भर्ना गरिएको छ । मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी वर्गीकरण गरिएको छ । प्रहरीका अनुसार दुई हजार ८४५ मतदानस्थल सामान्य, चार हजार ४४२ संवेदनशील र तीन हजार ६८० अतिसंवेदनशील सूचीमा परेका छन् ।
सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको जनाइएको छ । सशस्त्र प्रहरी बल नेपालतर्फ ३४ हजार ५७६ जना नियमित जनशक्ति र १५ हजार ११० निर्वाचन प्रहरी गरी कूल ४९ हजार ६८६ जना परिचालित हुनेछन् ।
निर्वाचनका क्रममा कुनै पनि अप्रिय घटना हुन नदिन उच्च सतर्कता अपनाइएको र आवश्यक परे १० मिनेटभित्र घटनास्थलमा पुग्ने गरी सुरक्षा टोली परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।