संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाली भाषा र संस्कृतिको महत्व अतुलनीय रहेको बताएका छन् । उनले कानुनमा समेत कला र संस्कृतिको मर्म झल्किनुपर्नेमा जोड दिँदै समाजमा सांस्कृतिक मूल्यहरू जगेर्ना गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
बुधबार राष्ट्रियसभाको विधायन समितिको बैठकमा मन्त्री सिन्हाले समाजको कला र संस्कृतिको महिमा जीवित राख्नुपर्ने बताए । समितिले अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि दफाबार छलफल गरेको थियो ।
बैठकमा समितिका सदस्य डा. वेदुराम भुसालले विधेयकको शीर्षक परिमार्जन गर्नुपर्ने सुझाव दिएका थिए। उनले विधेयकमा नाम र सम्पदाको परिभाषामा आवश्यक रुपान्तरण आवश्यक रहेको बताए ।
सदस्य पदमबहादुर परियारले २३ वर्षदेखि लागू हुन नसकेको उक्त विधेयक छिटो कार्यान्वयन गर्नुपर्ने र केही अप्रचलित सांस्कृतिक प्रथालाई संरक्षण गर्नु नहुने सुझाव दिएका छन् । उनले स्थानीय तहमा सांस्कृतिक सम्पदाको सूचीकरण मात्रै नपुगेको भन्दै प्रभावकारी कार्यान्वयनका लागि बजेटको व्यवस्था कानुनमा स्पष्ट उल्लेख हुनुपर्ने धारणा राखे ।
त्यस्तै, पर्यटन मन्त्रालयका सहसचिव जयनारायण आचार्यले विधेयकका शब्दावली सरल राखेर जनजीवन अनुकूल बनाउनु आवश्यक रहेको बताए । समितिका सभापति तुलसाकुमारी दाहालले अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि दफाबार छलफल जारी रहने र सरोकारवालाबाट राय सुझाव सङ्कलन भइरहेको जानकारी दिइन् ।