प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि मतदान केन्द्रमा प्रयोग हुने मतपेटिका पठाउने काम निर्वाचन आयोगले सुरु गरेको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार काठमाडौं र ललितपुरका लागि आवश्यक मतपेटिका यसअघि आयोगको केन्द्रीय कार्यालयमा भण्डारण गरिएको थियो । ती मतपेटिका बुधबारदेखि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पठाउन थालिएको हो ।
उनका अनुसार अन्य जिल्लाका लागि आवश्यक मतपेटिका भने यसअघि नै सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा वितरण भइसकेको छ । प्रत्येक मतदान केन्द्रमा प्रत्यक्ष र समानुपातिकतर्फ दुईवटा मतपेटिका राखिने व्यवस्था गरिएको छ । सोहीअनुसार आवश्यक संख्यामा रिजर्भ मतपेटिकासमेत व्यवस्था गरिएको आयोगले जनाएको छ ।
सबैभन्दा बढी मतपेटिका आवश्यक पर्ने जिल्लामा काठमाडौं, झापा र रूपेन्देही रहेका छन् । ती जिल्लामा क्रमशः ८१७ देखि ८३३ मतदान केन्द्र रहेका छन् । सबैभन्दा कम मतदान केन्द्र मनाङ जिल्लामा रहेको छ, जहाँ ३४ मतदान केन्द्र सञ्चालन हुनेछन् ।
निर्वाचन आयोगले फागुन १० गतेदेखि सबै मतदान केन्द्रमा मतदान अधिकृत खटाउने तयारी गरेको जनाएको छ । त्यसअघि मतदान अधिकृतहरूलाई आवश्यक तालिम प्रदान गरिनेछ । मतपत्र छपाइसम्बन्धी जानकारी दिँदै सहायक प्रवक्ता न्यौपानेले प्रत्यक्ष निर्वाचनतर्फ करिब ६० लाख मतपत्र छापिएको र आवश्यक कुल संख्या दुई करोड तीन लाख रहेको बताए । समानुपातिकतर्फ आवश्यक दुई करोड आठ लाख मतपत्र सबै छापिसकिएको आयोगले जनाएको छ ।
अन्तिम मतदाता नामावलीअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा एक करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता कायम रहेका छन् । २०७९ सालको निर्वाचनको तुलनामा यसपालि कुल मतदाता संख्या ९ लाख १५ हजार ११९ ले वृद्धि भएको आयोगले जनाएको छ । निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ, जुन २०७९ सालको तुलनामा ७५ ले बढी हो ।
निर्वाचन आयोगले मतदान प्रक्रिया सुरक्षित, पारदर्शी र समयमै सम्पन्न गर्न आवश्यक तयारी तीव्र बनाएको जनाएको छ ।