आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) व्यापक रूपमा परिचालन हुने भएपछि देशभरका कारागारको अस्थायी सुरक्षामा नेपाली सेना तैनाथ गरिने भएको छ ।
निर्वाचन सुरक्षामा प्रहरी र सशस्त्रको मुख्य भूमिका रहने भएकाले प्रत्येक कारागारमा एक–दुई जना मात्र प्रहरी राखी बाँकी जनशक्ति फिल्डमा पठाइँदैछ । हाल करिब ८० हजार जनशक्ति रहेको नेपाल प्रहरीका ७१ हजार र करिब ३७ हजार सशस्त्रका ३५ हजार जनशक्ति २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षामा परिचालन हुँदैछन् ।
निर्वाचनको भित्री तथा बाहिरी सुरक्षा घेरामा प्रहरी र सशस्त्र खटाइनेछ । कार्यालय, ब्यारेक र प्रशासनिक कार्यमा न्यूनतम जनशक्ति राखी बाँकीलाई निर्वाचन सुरक्षामा केन्द्रित गरिने योजना बनाइएको छ ।
यसैअनुसार हालसम्म प्रहरी र सशस्त्रले सम्हाल्दै आएको कारागार सुरक्षा जिम्मेवारी मतदान सम्पन्न भई सुरक्षाकर्मी नफर्किएसम्म नेपाली सेनालाई दिइने भएको हो ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार देशभर रहेका ठूला, मझौला र साना गरी ७५ वटा कारागारमा सेना खटाइँदैछ । यसका लागि प्रहरी र सशस्त्रसँग बुझबुझारथ प्रक्रिया भइरहेको छ ।
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले निर्वाचन सुरक्षाका लागि अन्य सुरक्षा निकायले क्रमशः जिम्मेवारी हस्तान्तरण गरिरहेको जानकारी दिए ।
हाल करिब एक लाख जनशक्ति रहेको नेपाली सेनामध्ये ८० हजार जनशक्ति बुधबारदेखि निर्वाचन सुरक्षामा परिचालन गरिँदैछ । सेनालाई बाहिरी सुरक्षा व्यवस्थापनसँगै हवाई गस्ती, संयुक्त गस्ती, मतपेटिका ढुवानी तथा निर्वाचन सामग्री ढुवानीलगायत कार्यमा खटाइनेछ ।
एकीकृत निर्वाचन सुरक्षा कार्ययोजना अनुसार सेनालाई एकल तथा संयुक्त रूपमा अन्य सुरक्षा निकायसँग मिलेर परिचालन गरिनेछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ११ मंसिरमै निर्वाचनका लागि सेना परिचालन स्वीकृत गरिसकेका छन् ।