निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा मौसमले कुनै असर नपार्ने देखिएको जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, मौसम विज्ञान विभागले उपलब्ध गराएको पूर्वानुमान अनुसार २०, २१ र २२ फागुनमा हिमाली क्षेत्रहरुमा सुख्खा मौसम रहनेछ । उक्त अवधिमा वर्षाको सम्भावना नदेखिएको उनले बताए ।
भट्टराईका अनुसार, विभागले पछिल्लो ३० वर्षको तथ्यांक र मौसम अध्ययनको आधारमा आयोगलाई रिपोर्ट दिएको हो । आयोगले फागुन १० देखि ३० गतेसम्मको मौसमसम्बन्धी जानकारी मागेको थियो । रिपोर्टमा विगत ३० वर्षमा सो अवधिमा वर्षा नदेखिएको र सामान्यतया मौसम सुख्खा रहने जानकारी दिइएको छ ।
प्रवक्ता भट्टराईले शुक्रबार प्राप्त मौसम प्रतिवेदनअनुसार निर्वाचनमा मौसमका कारण कुनै समस्या नदेखिएको स्पष्ट पारे । तर, अप्रत्याशित मौसम परिवर्तन भएमा सम्बन्धित निकायबाट सूचना दिइने आयोगले जनाएको छ ।