प्रहरी महानिरीक्षक दान बहादुर कार्की ले समाजमा शान्ति र सुव्यवस्था कायम राख्दै आसन्न प्रतिनिधिसभा निर्वाचनको समयमा देखा पर्न सक्ने चुनौतीहरू समयमै पहिचान गरी प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिनुभएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आयोजित कार्यक्रममा उहाँले प्रहरी कर्मचारीहरूलाई निर्वाचनलाई राष्ट्रिय संकल्पका रूपमा लिएर भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाउन, अन्य सुरक्षा निकाय र सरोकारवालासँग निरन्तर समन्वय गर्न तथा आ-आफ्नो क्षेत्रमा त्रुटीविहीन कार्यसम्पादन गर्न जोड दिनुभयो ।
महानिरीक्षक कार्कीले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने वा अवाञ्छित गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन सूचना संकलनलाई उच्च प्राथमिकतामा राख्न र निर्वाचनको समयमा प्रहरी परिचालनलाई तटस्थ, इमानदार तथा प्रतिवद्ध तरिकाले कार्यान्वयन गर्न विशेष निर्देशन दिनुभयो । साथै, प्रहरी कर्मचारीहरूको उचित व्यवस्थापन, पूर्वअभ्यास, सूचना विश्लेषण, अनपेक्षित घटनाको तयारी र सीमा नाकामा आपराधिक गतिविधि रोकथाममा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख, नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत, काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयहरू, विशेष सुरक्षा गण, प्रदेश प्रहरी गण, जिल्ला प्रहरी परिसर र मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू भर्चुअल रूपमा सहभागी थिए ।