केही समय अवरुद्ध भएको नेपाल मा युट्युब सेवा अहिले अधिकांश स्थानमा सञ्चालनमा आएको छ । यद्यपि, केही क्षेत्रमा अझै पूर्ण रूपमा सहज रूपमा सेवा प्रयोग गर्न नसकिएको गुनासो प्रयोगकर्ताहरूले गरेका छन् ।
आज बिहानको पछिल्लो विवरण अनुसार DownDetector ले सार्वजनिक गरेको तथ्यांकमा संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य तथा युरोपका अन्य देशहरूमा अझै हजारौँ प्रयोगकर्ताले समस्या भोगिरहेको उल्लेख गरिएको छ । केही घण्टाको अवधिमा अमेरिकामा मात्र ३ लाख २० हजारभन्दा बढी नयाँ गुनासा दर्ता भएको जनाइएको छ ।
प्रयोगकर्ताहरूका अनुसार युट्युबको होमपेज र सिफारिस भिडियोहरू नचल्ने समस्या देखिए पनि सीधा लिंक वा ‘सब्स्क्रिप्सन’ ट्याबबाट केही भिडियोहरू हेर्न सकिएको छ । मुख्य अल्गोरिदम र होम स्क्रिन प्रणाली धेरै देशमा अझै प्रभावित रहेको बताइएको छ ।
नेपालमा किन प्रभाव कम देखियो ?
विशेषज्ञहरूका अनुसार युट्युबका सर्भरहरू विश्वका विभिन्न क्षेत्रमा विभाजित छन्। हालको समस्या मुख्यतः पश्चिमी देशका सर्भर वा गुगलको केन्द्रीय प्रणालीमा आएको प्राविधिक त्रुटिसँग सम्बन्धित हुन सक्ने अनुमान गरिएको छ । त्यसैले नेपाल जस्ता केही क्षेत्रमा असर कम देखिएको हुन सक्छ ।
भारत मा पनि सेवा आंशिक रूपमा सञ्चालनमा रहेको छ । तर दिल्ली, मुम्बई र बेंगलुरुका केही प्रयोगकर्ताले भिडियो लोड हुन ढिलाइ भएको र कमेन्ट सेक्सन नदेखिएको गुनासो गरेका छन् ।
यसैबीच अष्ट्रेलिया र जापान मा सेवा क्रमशः सामान्य हुँदै गएको रिपोर्ट आएको छ । यद्यपि सर्च गर्दा केही ढिलाइ भएको प्रयोगकर्ताले बताएका छन् ।
पछिल्लो अपडेट र आधिकारिक भनाइ
युट्युबको माउ कम्पनी Google ले समस्या समाधानका लागि प्राविधिक टोली सक्रिय रूपमा काम गरिरहेको जनाएको छ । सेवा पूर्ण रूपमा कहिले सामान्य हुन्छ भन्ने निश्चित समय भने सार्वजनिक गरिएको छैन ।
अमेरिकामा विशेषगरी न्युयोर्क, लस एन्जलस, सिकागो र सियाटल क्षेत्रमा समस्या बढी देखिएको छ । त्यस्तै क्यानडा को टोरन्टो र भ्यानकुभर क्षेत्रमा पनि सेवा सुस्त रहेको रिपोर्ट आएको छ ।
यस्तै जर्मनी र फ्रान्स मा पनि हजारौँ प्रयोगकर्ताले डाउन डिटेक्टरमा समस्या दर्ता गरिरहेका छन् ।
प्रारम्भिक अनुमान अनुसार यो साइबर आक्रमण नभई युट्युबको ‘ब्याक–एन्ड’ कोड अपडेट गर्दा आएको प्राविधिक त्रुटि हुन सक्ने बताइएको छ । कम्पनीले यसलाई ‘ग्लोबल इन्सिडेन्ट’ को रूपमा हेरिरहेको जनाएको छ ।