पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान नगरी निर्वाचनमा जानु उपयुक्त नहुने धारणा व्यक्त गरेका छन् ।
७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।
प्रजातान्त्रिक व्यवस्थामा प्रतिनिधि छनोटका लागि आवधिक निर्वाचन स्वाभाविक प्रक्रिया भए पनि अहिलेको अवस्था सामान्य नभएको उनको भनाइ छ ।
उनले भने, “प्रजातान्त्रिक व्यवस्थामा प्रतिनिधि छान्नु स्वाभाविक प्रक्रिया भए पनि यतिखेरको आम जनभावना राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ भन्ने छ ।”
निर्वाचनपछि खिचातानी नहोस् भन्नका लागि राष्ट्रिय समझदारी बनाएर अघि बढ्नु सही बाटो हुने उनको धारणा छ ।
अधिकार मात्रै होइन, कर्तव्य पनि सम्झनुपर्ने
शाहले मुलुकमा अधिकार मात्रै खोज्ने तर कर्तव्य नसोच्ने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
उनले भने, “आलोपालो भाग लगाएर खाऔँ भन्ने सोचले होइन, मिलेर जाऔँ भन्ने सोचले मात्र मुलुकलाई नयाँ गति दिन सक्छ ।”
मुलुक अन्योल र अस्थिरतामा फसेको टिप्पणी
उनले देश अस्वाभाविक अन्योल र छटपटीमा फसेको भन्दै देशको अस्तित्वमै संकट महसुस भइरहेको बताएका छन् ।
विगतका आन्दोलन र राजनीतिक परिवर्तनले नेपाल र नेपालीलाई के दियो भन्ने विषयमा आत्मसमीक्षा गर्नुपर्ने बेला आएको उनको भनाइ छ ।
प्रजातन्त्र दिवसको सन्दर्भ
सन्देशमा उनले ७५ वर्षअघि जनता र राजाको संयुक्त प्रयासबाट नेपालमा प्रजातन्त्र स्थापना भएको स्मरण गरेका छन्।
यस अवसरमा उनले राष्ट्रपिता त्रिभुवन वीर विक्रम शाह प्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रजातन्त्रका लागि योगदान दिने सहिदहरूलाई सम्मान व्यक्त गरेका छन् ।
उनले जनता स्वयं सचेत र जागरूक नभएसम्म प्रजातन्त्र बलियो हुन नसक्ने बताएका छन् । साथै देशको आवश्यकता र यथार्थअनुसार प्रजातन्त्रलाई सुधार र परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिएका छन् ।