गौर नगरपालिका–६ सबगढा गाउँमा बिहीबार राति दुई समुदायबीच झडप भएको छ । झडपपछि उक्त क्षेत्र तनावग्रस्त बनेको छ ।
स्रोतका अनुसार, बिहीबार राति हिन्दू समुदायको विवाह कार्यक्रममा बाजा बजाउँदै जन्ती गएको थियो । त्यही समयमा मुस्लिम समुदायको मस्जिदमा रातिको नमाज पढिरहेको थियो । बाजा बजाएको विषयलाई लिएर भनाभन सुरु भएको थियो ।
भनाभनपछि मुस्लिम समुदायका केही मानिसले बाजा बजाउने डिजे ग्रुपका व्यक्तिहरूलाई कुटपिट गरेका थिए । यस विषयमा आज बिहानैदेखि पुनः दुवै पक्षबीच ढुङ्गा हानाहान भएको छ ।
घटनापछि सुरक्षाकर्मीको ठूलो परिचालन गरिएको छ। रौतहटका सिडिओ दिनेश सागर भुसालले नेपाल प्रहरीका एसपी सिताराम रिजाल, सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारी घटनास्थलमा पुगेको जानकारी दिएका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करिब २५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सिडिओ भुसालले यस किसिमको घटना अत्यन्तै दुःखद भएको उल्लेख गर्दै दुईपक्षीय वार्ताका लागि पहल भइरहेको बताएका छन् । स्थानीय प्रशासनले शान्ति–सुरक्षा कायम गर्न अपिल गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।