शिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा २५ वर्षीय युवक सन्तोष गिरीको शव भेटिएको छ । मृतक संखुवासभा घर भएका गिरी मन्दिर क्षेत्रमा बसोबास गर्दै आएका र मागेर खाने बानीका व्यक्ति थिए ।
प्रहरी वृत्त गौशाला र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनास्थल मुचुल्का गरी अनुसन्धान सुरु गरेको छ । शवको शरीरमा नीलडाम र चोटपटक देखिएपछि घटना संकास्पद भएको प्रहरीले जनाएको छ ।
एसएसपी सन्तोष खड्काका अनुसार, “मृतकको शरीरमा चोटपटक देखिएपछि हत्या हुन सक्ने आशंका छ । पोस्टमार्टम रिपोर्टले थप विवरण दिन सक्नेछ।” शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।
प्रहरीका अनुसार अनुसन्धानको क्रममा मृतकसँग राति बसेका एक ‘बाबा’ घटना संग जोडिएको देखिएको छ । घटना राति गिरीसँगै रहेका तीन व्यक्ति बीचको विवादसँग सम्बन्धित हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । बाबाले आफ्नो मोबाइल हराएको र मृतक गिरीलाई चोरीको आरोप लगाएको बताइएको छ ।
प्रहरी स्रोतले भने, “मोबाइल फेला नपरेपछि बाबाले तीनै व्यक्तिलाई नियन्त्रणमा लिएर यातना दिएर हत्या गरेको हुनसक्ने हाम्रो प्रारम्भिक विश्लेषण हो ।” लामो समय भारतको बनारसमा बसेका बाबाको पहिचान राजवंशी थरका नेपाली नागरिकको रूपमा भइसकेको छ । फरार बाबाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
हालसम्म घटनाबारे औपचारिक रूपमा प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन ।