इचिकावा चिडियाघर, जापान – जापानमा जन्मिएको एउटा मायालु बाँदर पन्च र उसको खेलौना साथीको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
पन्चको जन्म गत वर्ष जुलाईमा इचिकावा चिडियाघरमा भएको थियो । जन्मिएपछि उसकी आमाले पन्चलाई हुर्काउन अस्विकार गरेकी थिइन् । सम्भावित कारण भनेको गर्मी र प्रसूति समयको कठिनाइ हुनसक्छ । यसपछि चिडियाघरका कर्मचारीहरूले पन्चलाई हुर्काएका थिए । सुरुवाती अभिभावक र साथी ती कर्मचारी नै थिए ।
जनवरी महिनामा पन्चलाई अन्य बाँदरहरूसँग सामाजिक रूपमा घुलमिल गराउने प्रयास गरिएको थियो । तर सुरुवातमा पन्चलाई अरूसँग अन्तरक्रिया गर्न कठिनाइ भयो। प्राय: बाँदर वा अन्य प्रजातिहरू आफ्नी आमाबाट संसार सिक्छन् । आमा नहुँदा पन्चले अरूसँग अन्तरक्रिया गर्न चुनौती भोग्नु परेको हो ।
भाइरल भिडियोहरूमा देखिएअनुसार पन्च अन्य बाँदरहरूसँग लाजले वा डरले जान्छ, तर बाँदरहरूले कहिलेकाहीँ कुटपीट वा बेवास्ता गर्ने गरेका छन् । यसले पन्चलाई भावनात्मक असर नगरोस् भनेर कर्मचारीहरूले पन्चका लागि खेलौना ल्याए । यो खेलौना चाँडै नै पन्चको प्रिय बन्यो। पन्चले यसलाई अँगालो हाल्छ, तान्छ र सधैं आफ्नो साथमा राख्छ ।
पन्चले अन्य बाँदरसँग अन्तरक्रिया र सञ्चार गर्ने प्रयास पनि गरिरहेको छ । आफ्ना भावनात्मक भाव व्यक्त गर्न र एक्लोपन कम गर्न उसले आफ्नो खेलौना साथीलाई सधैं साथ राख्छ ।
खेलौना आईकिया कम्पनीले बनाएको हो । स्वीडेनस्थित कम्पनीका विश्वभर शाखा रहेका छन् । पन्चको भिडियो भाइरल भएपछि यस खेलौना खरिद गर्न चाहनेको संख्या बढेको कम्पनीले जनाएको छ ।
हाल, पन्च र उसको खेलौना साथीको भिडियो र तस्विरले मानिसहरूको मन छोएको छ र सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ ।