सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विस्तृत विवरण उपलब्ध गराउन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ले उपचारमा संलग्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई घाइतेहरूको विवरण तत्काल मन्त्रालयमा पठाउन आग्रह गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार जेनजी आन्दोलनका क्रममा छुट भएका घाइतेहरूको तथ्याङ्क सङ्कलन गरी फागुन १५ गतेभित्र मन्त्रालयमा उपलब्ध गराउन निर्देशन दिइएको छ । घाइतेहरूको उपचार र राहतलाई प्रभावकारी बनाउन गठित समन्वय समितिको निर्णयअनुसार यस्तो निर्देशन जारी गरिएको उनले बताए ।
डा. बुढाथोकीका अनुसार हालसम्म २०० जना घाइतेको मात्र वर्गीकृत विवरण मन्त्रालयमा प्राप्त भएको छ । प्रदर्शनका क्रममा धेरै व्यक्ति घाइते भए पनि सामान्य घाइते भएकाहरू राहत सुविधा नपाउने आशंकाले सम्पर्कमा नआएको हुन सक्ने उनको भनाइ छ ।
मन्त्रालयको तथ्याङ्कअनुसार जेनजी प्रदर्शनका क्रममा कुल २ हजार ५९९ जना घाइते भएका छन् । सरकारले अतिगम्भीर वर्गीकरणमा परेका घाइते तथा उनीहरूको स्याहारकर्तालाई मासिक ९ हजार रुपैयाँ, गम्भीर घाइतेलाई मासिक ९ हजार रुपैयाँ र मध्यम घाइतेलाई मासिक ४ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई तथ्याङ्क अद्यावधिक गरी समयमै उपलब्ध गराउन पुनः आग्रह गरेको छ ।