सामाजिक सुरक्षा कोष को खातामा योगदानकर्ताले बुझाएको १ खर्ब २ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ। कोषका अनुसार फागुन १० गतेसम्म उक्त रकम संकलन भएको हो ।
विसं २०७५ मंसिर ११ गते सामाजिक सुरक्षा योजनाहरूको औपचारिक सुरुआत गरिएको थियो भने २०७६ साउन १ गतेदेखि योगदान रकम संकलन सुरु गरिएको हो ।
कोषमा औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको मासिक आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम जम्मा गरिन्छ । यसमध्ये ११ प्रतिशत श्रमिक स्वयंले र २० प्रतिशत रोजगारदाताले योगदान गर्नुपर्ने व्यवस्था छ । योगदानकर्ताले इच्छाअनुसार थप रकम पनि जम्मा गर्न सक्ने प्रावधान रहेको छ । प्रत्येक महिनाको योगदान रकम अर्को महिनाको १५ गतेभित्र कोषमा बुझाइसक्नुपर्छ ।
कोषका प्रवक्ता कृष्ण अधिकारीका अनुसार जम्मा भएको रकम सुरक्षित रूपमा लगानी गरिएको छ । कोषले सरकारी ऋणपत्र, बन्ड, वाणिज्य बैंकहरूको निक्षेप, म्युचुअल फन्ड तथा डिबेन्चरमा लगानी गरेको छ । साथै योगदानकर्तालाई सापटीका रूपमा समेत लगानी भइरहेको उनले जानकारी दिए ।
हाल कोषमा आबद्ध योगदानकर्ताको संख्या २८ लाख २२ हजार ३३३ पुगेको छ भने सूचीकृत रोजगारदाताको संख्या २३ हजार ८४ रहेको छ । कुल योगदानकर्तामध्ये झन्डै ६ लाख ७९ हजार औपचारिक क्षेत्रका श्रमिक रहेका छन् भने करिब २२ लाख वैदेशिक रोजगारीमा गएकाहरू छन् । अनौपचारिक क्षेत्रका ८५४ जना र स्वरोजगार क्षेत्रका ८०८ जना मात्र कोषमा आबद्ध रहेका छन् ।
कोषमा आबद्ध हुने योगदानकर्ताले औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता योजना, आश्रित परिवार सुरक्षा योजना तथा वृद्धावस्था सुरक्षा योजनाबाट लाभ लिन सक्ने व्यवस्था छ ।