सशस्त्र प्रहरी बल नेपालले सीमावर्ती क्षेत्रमा निगरानी तीव्र बनाउने क्रममा सर्लाहीमा ठूलो परिमाणमा भन्सार छलीका सामान बरामद गरेको छ ।
पछिल्लो अपरेशनमा करिब ३२ लाख ८३ हजार ७५० रुपैयाँ बराबरका अवैध सामग्री तथा सवारी साधन नियन्त्रणमा लिइएको जनाइएको छ ।
विशेष सूचनाका आधारमा भारतबाट भन्सार छली गरी सामान भित्र्याइँदै गरेको जानकारी पाएपछि सुरक्षा टोलीले सर्लाहीको पर्सा–५ स्थित सीमा नाकामा निगरानी बढाएको थियो ।
प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लिला बहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले मोटरसाइकलमार्फत ल्याइएका सामान दुई वटा पिकअप गाडीमा लोड गरिँदै गरेको अवस्थामा फेला पारेको जनाएको छ ।
के–के बरामद भए ?
बरामद सामग्रीमध्ये १ हजार ७८५ केजी भारतीय फूल रहेको छ, जसको अनुमानित मूल्य करिब ७ लाख १४ हजार रुपैयाँ रहेको छ ।
त्यसैगरी विभिन्न प्रकारका कपडासमेत बरामद गरिएको छ, जसको मूल्य करिब ८ लाख ८३ हजार ७५० रुपैयाँ आकलन गरिएको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट दुई वटा पिकअप गाडी र चार वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ । ती सवारी साधनको अनुमानित मूल्य करिब २४ लाख रुपैयाँ बराबर रहेको बताइएको छ ।
बरामद गरिएका सम्पूर्ण सामान तथा सवारी साधन आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सर्लाही भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
सुरक्षा स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा पछिल्लो समय अवैध गतिविधि नियन्त्रणका लागि निगरानी तथा गस्ती अझ कडा बनाइएको छ ।