जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस वर्षको होली पर्वमा मञ्च बनाएर सांगीतिक कार्यक्रम आयोजना गर्न तथा मेला–महोत्सव सञ्चालन गर्न रोक लगाएको छ ।
कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको हो ।
प्रशासनद्वारा जारी सूचनामा खुला सडक तथा सार्वजनिक स्थानमा भेला भई भिड जम्मा गर्ने, मेला–महोत्सव आयोजना गर्ने, मञ्च निर्माण गरी सांगीतिक कार्यक्रम गर्ने, मादक पदार्थको बिक्री–वितरण तथा सेवन गर्ने जस्ता गतिविधि नगर्न/नगराउन अनुरोध गरिएको छ । साथै निर्वाचन आचारसंहिता विपरीतका कुनै पनि गतिविधि नगर्न चेतावनी दिइएको छ ।
चुनाव प्रचारमा दुरुपयोग हुन सक्ने आशंका
होली पर्वलाई चुनाव प्रचारको माध्यम बनाउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रशासनले विशेष कडाइ गरेको जनाएको छ ।
प्रशासनले निर्वाचन चिह्न वा झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट वा झोला प्रयोग गर्न नहुने स्मरण गराएको छ ।
होली लक्षित गरी निर्वाचन चिह्न वा उम्मेदवारको तस्वीर अंकित भेष्ट, टिसर्ट, कमिज, गम्छा लगायतका सामग्री प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ ।
मर्यादित होली मनाउन आग्रह
होली पर्वलाई मर्यादित र सुरक्षित बनाउन कसैको इच्छा विपरीत रंग – अबिर दल्ने वा लोला हान्ने कार्यसमेत नगर्न प्रशासनले अनुरोध गरेको छ ।
प्रशासनले नियम उल्लंघन गरेमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ ।