इरानको राजधानी तेहरानको मध्य भागमा तीनवटा शक्तिशाली विस्फोटका आवाज सुनिएको छ । इरानी सञ्चारमाध्यमहरूको अनुसार तेहरानको रिपब्लिक क्षेत्रमा कैयौँ क्षेप्यास्त्र प्रहार भएको र जम्हुरी स्क्वायर तथा हसन अवाद स्क्वायरको आकाशमा धुवाँको मुस्लो उडेको तस्बिरहरू सार्वजनिक भएका छन् ।
इरानको राज्य समर्थित फार्स न्युज एजेन्सीले तेहरानको उत्तरी र पूर्वी भागमा पनि थप विस्फोटका आवाज सुनेको जनाएको छ । विस्फोटका खबर बाहिरिएलगत्तै इजरायलले इरानमाथि ‘प्रि-एम्प्टिभ’ (अग्रिम) आक्रमण सुरु गरेको घोषणा गरेको छ ।
इजरायली रक्षामन्त्री इजरायल काट्जले इजरायल राष्ट्रविरुद्धको सम्भावित खतरा निस्तेज पार्न यो कदम चालिएको बताएका छन् । साथै उनले इजरायलभर ‘विशेष र स्थायी आपतकालीन अवस्था’ लागू गरिएको घोषणा गरेका छन् ।
इरानमाथि आक्रमण सुरु भएपछि इजरायलमा सम्भावित जवाफी क्षेप्यास्त्र प्रहारको खतरालाई मध्यनजर गर्दै स्थानीय समयअनुसार बिहान ८:१५ बजे साइरन बजाइएको थियो। इरानले भने कुनै पनि आक्रमणको कडा जवाफ दिने चेतावनी दिइसकेको छ ।
बीबीसीको रिपोर्टअनुसार यो पछिल्लो सैन्य टकराव अमेरिका र इरानबीच आणविक कार्यक्रम रोक्ने र सम्भावित युद्ध टार्ने कूटनीतिक प्रयासकै बीच भएको हो। आगामी साता पनि वार्ता जारी रहने अपेक्षा गरिएको थियो ।
इरानले वार्तामा केही लचिलोपन देखाए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छलफलको दिशाप्रति सन्तुष्ट नरहेको बताएका थिए। उनले सन् २००३ को इराक युद्धपछि मध्यपूर्वमा सबैभन्दा ठूलो अमेरिकी सैन्य उपस्थिति बढाउन आदेश दिएका छन्, तर अहिले तत्काल सैन्य कारबाही किन आवश्यक पर्यो भन्ने स्पष्ट पार्न सकेका छैनन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम आफ्नो देशका लागि ठूलो खतरा भएको भन्दै केवल आणविक कार्यक्रममा केन्द्रित हुने सम्झौता मात्र स्वीकार्य हुने बताएका थिए। तर इरानले अमेरिकी–इजरायली मागलाई आफ्नो सार्वभौमसत्ताको उल्लङ्घन भन्दै अस्वीकार गर्दै आएको छ ।
यसअघि गत जुन महिनामा इजरायलले इरानमाथि आक्रमण गर्दा ‘१२ दिने युद्ध’ सुरु भएको थियो। त्यसबेला अमेरिका पनि जोडिएर इरानका आणविक केन्द्रहरूलाई निशाना बनाएको थियो । हाल सुरु भएको आक्रमणले मध्यपूर्वमा ठूलो युद्धको खतरा बढाएको विश्लेषकहरूले बताएका छन् ।