काठमाडौं । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबाट प्रत्यक्षतर्फ १४ महिला उम्मेदवार विजयी भएका छन् भने ७ जना ४० वर्षमुनिका युवा सांसद निर्वाचित भएका छन् ।
यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट १३ महिला र नेपाली कांग्रेस बाट १ महिला सांसद विजयी भएका छन्। यससँगै नेपालको राजनीतिक क्षेत्रमा महिला सहभागितामा नयाँ रेकर्ड कायम भएको छ ।
मुख्य विजेतामध्ये काठमाडौँ–१ बाट रन्जु दर्शना, ललितपुर–३ बाट डा. तोसिमा कार्की र झापा–१ बाट २९ वर्षीया निशा डाँगी निर्वाचित भएकी छन् । नेपाली कांग्रेसका तर्फबाट दैलेख–१ बाट बासना थापा विजयी भएकी छन् ।
त्यसैगरी रास्वपाका सोबिता गौतम, आशिका तामाङ र रुविना आचार्यले पनि जित निकाल्दै नयाँ इतिहास रचेका छन्। विजयी महिला सांसदहरूले युवा नेतृत्व, महिला सशक्तिकरण, सामाजिक न्याय, शिक्षा र स्वास्थ्य क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।
विशेषत: यस निर्वाचनमा युवा उम्मेदवारहरूको बढ्दो सहभागिताले नेपाली राजनीतिमा नयाँ ऊर्जा थपेको विश्लेषकहरूले बताएका छन् । ४० वर्षमुनिका ७ युवा सांसदहरूले युवापुस्ताका सवालहरू संसदमा उठाउने अपेक्षा गरिएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार, प्रत्यक्षतर्फ महिला र युवा सांसदको यस्तो उच्च सहभागिताले नेपाली संसदमा समावेशिता र प्रतिनिधित्वको नयाँ युग सुरु भएको संकेत दिएको छ ।