वीरगन्ज। डोनाल्ड ट्रम्प ले इरानसँग जारी युद्ध छिट्टै अन्त्य हुने बताएका छन् ।
बुधबार सञ्चारमाध्यमसँगको संक्षिप्त टेलिफोन संवादमा ट्रम्पले इरान विरुद्ध भइरहेको सैन्य अभियान अपेक्षाभन्दा प्रभावकारी रूपमा अघि बढिरहेको दाबी गर्दै युद्ध चाँडै अन्त्य हुने बताएका हुन् ।
अमेरिका र इजरायल को संयुक्त सैन्य अभियान ‘अपरेसन एपिक फ्युरी’ सुरु भएको १२ दिन पुगेको छ। उक्त अभियानमार्फत इरानको मिसाइल क्षमता, नौसैनिक शक्ति तथा सम्भावित आणविक हतियार कार्यक्रमलाई कमजोर बनाउने लक्ष्य राखिएको जनाइएको छ ।
समाचार संस्था Axios सँगको करिब पाँच मिनेट लामो टेलिफोन संवादमा ट्रम्पले युद्ध चाँडै अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।
उनले भने, “म कुनै पनि बेला यो अन्त्य गर्न चाहन्छु, यो चाँडै अन्त्य हुनेछ ।”
यसैबीच United States Central Command का प्रमुख एडमिरल ब्राड कूपर ले सार्वजनिक भिडियो सन्देशमार्फत फेब्रुअरी २८ देखि सुरु भएको अभियानअन्तर्गत अमेरिकी सेनाले इरानभित्र ५ हजार ५ सयभन्दा बढी लक्ष्यमा आक्रमण गरेको जानकारी दिएका छन् ।
उनका अनुसार ती आक्रमणमा ६० भन्दा बढी जहाजसमेत निशाना बनाइएका छन् ।
ट्रम्पले युद्ध अपेक्षाभन्दा प्रभावकारी रूपमा अघि बढिरहेको दाबी गर्दै सुरुमा अनुमान गरिएको छ हप्ताभन्दा कम समयमै ठूलो क्षति पुर्याइएको बताएका छन् । साथै उनले इरानले विगत ४७ वर्षदेखि फैलाएको मृत्यु र विनाशको मूल्य अहिले चुकाइरहेको टिप्पणी गरेका छन् ।
“यो त्यसको भुक्तानी हो, उनीहरू यति सजिलै बाहिर निस्कन सक्ने छैनन्,” ट्रम्पले बताएका छन् ।