विजयपुर नगरपालिका–५ सन्तपुरस्थित दलित (चमार) टोलमा फागुन १९ गते दुई महिलासहित छ जनामाथि सामूहिक कुटपिट गरेको घटनामा संलग्न व्यक्तिहरूविरुद्ध प्रहरीले आठ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ ।
पीडित बिर्जाराम चमारको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनियाले उक्त मुद्दा दर्ता गरेको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिनुभयो। घटनामा संलग्न भनिएका पसिन्द्र यादवलाई पक्राउ गरिएको छ भने अन्य आरोपीको खोजी जारी रहेको छ । पक्राउ परेका यादवलाई अनुसन्धानको क्रममा सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।
पीडित बिर्जाराम चमारका अनुसार, फागुन १९ गते होलीको क्रममा सामान्य भनाभनपछि स्थानीय भुनेश्वर यादवसहितको समूहले लाठी–भाटा लिएर घरमा प्रवेश गरी छ जना सदस्यमाथि निर्घात कुटपिट गरेको थियो। यस क्रममा घरका सामान तोडफोड गरिएका र दुईवटा मोबाइलसमेत फोडिएका छन् ।
कुटपिटबाट बिर्जाराम चमारको ढाड र घाँटीमा चोट लागेको छ भने उनकी पत्नी गायत्रीदेवी रामको शरीरभरि नीलडाम परेको छ । छोर राजकुमार रामको टाउकोमा चोट लागेको छ भने सुब्बा रामकी १६ वर्षीया छोरीको टाउको फुटेको बताइएको छ ।