नेपाल आयल निगमले आज (शुक्रबार)देखि बजारमा आधा सिलिन्डर ग्यास मात्रै वितरण गर्ने निर्णय गरेको छ ।
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार अब उपभोक्ताले ७ दशमलव १ केजी तौल भएको आधा सिलिन्डर ग्यास खरिद गर्न पाउनेछन् । उक्त आधा सिलिन्डर ग्यासको मूल्य पनि साविकको भन्दा आधा नै निर्धारण गरिएको उनले जानकारी दिए ।
अन्तर्राष्ट्रियस्तरमा भइरहेको युद्धका कारण बजारमा ग्यासको माग बढेको तथा आपूर्तिमा समस्या देखिएकाले अवस्थालाई सामान्य बनाउन निगमले यस्तो कदम चालेको कार्यकारी निर्देशक भट्टले बताए ।
उनले आधा सिलिन्डर ग्यास वितरण गर्दा धेरैभन्दा धेरै उपभोक्ताको पहुँचमा ग्यास पुग्ने दाबी गरे । उनका अनुसार पहिले एक हजार जनाले ग्यास पाउने स्थानमा अब दुई हजार जनासम्म ग्यास उपलब्ध हुने छ ।यसका साथै आधा सिलिन्डर मात्र वितरण गर्दा ग्यास अनावश्यक रूपमा थुपारेर राख्ने (स्टक गर्ने) प्रवृत्ति पनि घट्ने निगमको विश्वास छ ।‘आधा सिलिन्डर कसैले पनि स्टक गरेर राख्दैन, जसलाई साँच्चिकै समस्या परेको छ उसले मात्रै किन्छ,’ कार्यकारी निर्देशक भट्टले भने ।
निगमले यस निर्णयले बजारमा देखिएको ग्यास अभाव हट्ने र उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्ने वातावरण बन्ने दाबी गरेको छ ।