एचडीपीई (हाई डेनसिटी पोलिथिलिन) पाइप, सिमेन्टसहितका निर्माण सामग्रीको मूल्यवृद्धिले अहिले नेपाली बजार तातेको छ। सरकारी ठेक्का कार्यान्वयन सुरु हुने समयमा एचडीपीई पाइपको मूल्य करिब ४० प्रतिशतसम्म बढेको छ। यसले सरकारी योजना, गैरसरकारी संस्था र स्थानीय तहका विकास कार्यमा असर परेको व्यवसायी र विशेषज्ञहरूले बताएका छन्।
विशेषगरी सरकारी खानेपानी आयोजना र सिँचाइ, सडक तथा ढल निकासमा प्रयोग हुने पाइप र निर्माण सामग्रीको मूल्यवृद्धिले बजारमा तरंग पैदा गरेको छ। ओम कालिन्चोक हार्डवेयर एन्ड सप्लायर्सका सञ्चालक सालिग्राम खड्काका अनुसार निर्वाचनपछि प्लास्टिकजन्य सामग्री विशेषगरी एचडीपीई पाइपको मूल्य अचानक बढेको हो। “निर्वाचनअघि कुनै जानकारी थिएन, एक्कासि उद्योगहरूले ४० प्रतिशतसम्म मूल्य बढाएर बजारमा पठाएका छन्। यसले व्यापारमा असर गर्छ,” उनले भने।
उपभोक्ता हित संरक्षण मञ्चकी उपाध्यक्ष सुवर्णप्रभा गुरागाईंका अनुसार खानेपानी, सिँचाइ, कृषि, सडक तथा ढल निकासमा सिमेन्ट र पाइपको प्रयोग हुने हुँदा मूल्यवृद्धि सीधा उपभोक्तासँग जोडिएको छ। उनका अनुसार सरकारले यसमा अघि सुन्नु आवश्यक छ।
जगदम्बा प्लास्टिक इन्डस्ट्रीजका अध्यक्ष लक्ष्मण अर्यालले अमेरिका–इरान युद्धका कारण कच्चापदार्थको मूल्य बढ्नु बजारमा मूल्यवृद्धिको प्रमुख कारण भएको बताएका छन्। युद्धका कारण क्रुड आयलको मूल्य ३०–५० प्रतिशत बढेपछि नेपालमा पनि एचडीपीई पाइपको मूल्य बढ्ने अनुमान गरिएको उनले बताएका छन्।
एचडीपीई उत्पादक संघका अध्यक्ष नीराजन सिम्खडाका अनुसार माग र आपूर्तिमा कच्चापदार्थको मूल्य वृद्धिले एचडीपीई पाइपको मूल्यवृद्धि गराएको हो। अहिले करिब ४ सय मेट्रिक टनको माग भए पनि त्यति उत्पादन नभएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीले अनौपचारिक रूपमा मूल्य बढेको पाइएमा सरकारले कडा निगरानी गर्ने बताउनुभयो। “खुला बजार भए पनि मनपरी हिसाबले मूल्य बढाउन पाइँदैन। उद्योगीहरूले कच्चापदार्थ आयात र लागत मूल्य देखाउनुपर्छ। अन्तर्राष्ट्रिय मूल्यले प्रभावलाई बहाना बनाएर अस्वाभाविक वृद्धि गर्ने सम्भावना छ, जसले उपभोक्ता पीडित हुन सक्छ,” उनले स्पष्ट पार्नुभयो।
नेपालमा एचडीपीई पाइप उत्पादन गर्ने ५३ उद्योग छन्, जसको वार्षिक उत्पादन करिब ४० हजार मेट्रिक टन र कारोबार ८–९ अर्ब रुपैयाँको छ। तर कोरोना महामारी र आर्थिक मन्दीका कारण यी उद्योग करिब २५ प्रतिशत क्षमतामा मात्र सञ्चालन भइरहेका छन्।
व्यवसायी तेजु कार्कीका अनुसार उच्च मूल्यवृद्धि र कृत्रिम अभावका कारण ठेक्का कार्यान्वयनको समय सुरु भएको भए पनि निर्माण सामग्रीको आपूर्ति नभएपछि विकास कार्य प्रभावित भएको छ।
यता, संघका अध्यक्ष सिम्खडा भने ९ सय ५० रुपैयाँ मेट्रिक टनमा किनिरहेको कच्चापदार्थ को मूल्य १ हजार ३ सय ५० रुपैयाँ मेट्रिक टन पुगेको भन्दै करिब ४२ प्रतिशतले कच्चा पदार्थको मूल्य बढेको प्रष्ट्याउँछन्। यसका कारण एचडीपीई पाइपको बजारमूल्य पर्ख र हेरको अवस्थामा रहेको उनको भनाइ छ।