धनुषा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध दायर गरिएको रिट निवेदन सर्वोच्च अदालतमा ‘हेर्न नमिल्ने’मा परेको छ।
शुक्रबार उक्त रिटको सुनुवाइ न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा तोकिएको थियो। तर न्यायाधीश सुवेदीले यसअघि बिहीबार मात्रै सोही विषयसँग सम्बन्धित रिटमा अन्तरिम आदेश जारी गरिसकेको उल्लेख गर्दै उक्त मुद्दा आफूले हेर्न नमिल्ने बताएपछि रिट ‘हेर्न नमिल्ने’मा परेको हो।
यसअघि कमलले दायर गरेको रिटमा न्यायाधीश सुवेदीकै इजलासले बिहीबार अन्तरिम आदेश जारी गरेको थियो।कर्जा सूचना केन्द्रले किशोरी साह कमलको नाम कालोसूचीमा राखेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो। उम्मेदवारी खारेज भएपछि कमलले सर्वोच्च अदालतमा दुई वटा रिट दायर गरेका थिए।
पहिलो रिटमार्फत उनले निर्वाचन आयोगको निर्णय बदर गरी उम्मेदवारी कायम गर्न माग गरेका छन् भने अर्को रिट कालोसूचीमा राखिएको निर्णयविरुद्ध दायर गरिएको हो।
निर्वाचन आयोगको निर्णयविरुद्धको रिटमा पहिलो सुनुवाइ फागुन २५ गते भएको थियो। उक्त मुद्दामा दुवै पक्षलाई छलफलका लागि फागुन २९ गते बोलाइएको भए पनि शुक्रबारको सुनुवाइ ‘हेर्न नमिल्ने’मा परेको हो।यसबीच निर्वाचन आयोगले धनुषा–१ बाट मातृका यादवलाई निर्वाचित घोषणा गरिसकेको छ।
अब किशोरी साह कमलको उम्मेदवारीसम्बन्धी विवादबारे सर्वोच्च अदालतको आइतबार बस्ने इजलासले निर्णय गर्ने भएको छ।