सरकारले पेट्रोलमा इथानोल मिसाएर प्रयोग गर्ने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ। मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश, २०८२’ हिजो राजपत्रमा प्रकाशित भएको छ।
यो नीतिमार्फत स्वदेशी कच्चापदार्थमा आधारित उद्योग प्रवर्द्धन, रोजगारी सिर्जना र ऊर्जा क्षेत्रमा आयातमा निर्भरता घटाउने लक्ष्य राखिएको छ। आदेशअनुसार नेपाल आयल निगमले पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिश्रण गर्नुपर्नेछ।
इथानोल उत्पादनका लागि मोलासेस, नेपियर घाँस, पराल, मकैको ढोड र सिमल तरुल जस्ता कच्चापदार्थ प्रयोग गर्न पाइने व्यवस्था गरिएको छ। तर, खानयोग्य अन्नलाई इथानोल उत्पादनमा प्रयोग गर्न नपाइने कडाइका साथ व्यवस्था गरिएको छ।
उद्योगहरूले उत्पादन गरेको इथानोल नेपाल आयल निगमलाई मात्र बिक्री गर्नुपर्नेछ र गुणस्तर मापदण्ड पालना अनिवार्य हुने सरकारको निर्देश छ। साथै, इथानोलको मूल्य निर्धारण हरेक आर्थिक वर्षको सुरुवातमा सरकारी सिफारिस समितिको सिफारिस अनुसार तय गरिने र साउन १ गतेदेखि लागू हुने व्यवस्था गरिएको छ।
सरकारको योजना अनुसार यो नीति कार्यान्वयनले कृषि अवशेष र जैविक स्रोतको उपयोग बढाउने, नयाँ उद्योग स्थापना गर्ने र ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्ने उद्देश्य पूरा गर्ने अपेक्षा गरिएको छ।