पितृशोकमा रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली लाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुरको गुन्डु पुगेकी छन्।
उनी केही समयअघि ओलीलाई भेट्न गुन्डु छिरेकी हुन्। उनको साथमा केही सहयोगीहरू पनि पुगेका छन्।
ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा शुक्रबार भक्तपुरको कोरियन अस्पतालमा निधन भएको थियो। अहिले ओली गुन्डुमै पिताको काजकिरिया गरिरहेका छन्।
यसैबीच, शनिबार एमालेको सचिवालय बैठक ओलीको उपस्थितिबिना नै सञ्चालन भएको थियो। बैठकको अध्यक्षता उपाध्यक्ष रामबहादुर थापा बादल ले गरेका थिए। बैठकले एमालेबाट १६ जना समानुपातिक सांसद चयन गर्ने निर्णय पनि गरेको छ।
आइतबार दिउँसो १ बजे प्रधानमन्त्री सुशीला कार्की पनि ओलीलाई भेट्न गुन्डु जाने कार्यक्रम रहेको छ। यसका लागि गुन्डुमा सुरक्षा कडा पारिएको छ।