जेनजी आन्दोलन भएको ६ महिनापछि बल्ल सरकारले उक्त आन्दोलनमा घाइते भएकाहरूको असली विवरण सार्वजनिक गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घाइतेहरुको उपचार गरिएका अस्पतालबाट आएको विवरण र त्यस विवरणलाई मूल्यांकन गरी उक्त आन्दोलनका असली घाइतेहरुको विवरण संकलन गरिएको हो।
मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइ प्रमुख डा. प्रकाश बुढाथोकीले आन्दोलनमा देशभरका ९९ अस्पतालमा दुई हजार ६३८ जना जेनजी आन्दोलनका असली घाइतेको उपचार गरिएको बताए।
उनले भने‚ ‘भदौ २३ र २४ गते भएको आन्दोलनमा घाइते भएका धेरै विवरण अस्पतालबाट हामीले संकलन गरेका थियौँ, अस्पतालहरूले पठाएको विवरणको मूल्यांकन गरी दुई हजार ६३८ जना जेनजी आन्दोलनका असली घाइते हुन् भनेर हामीले पुष्टि गरेर उक्त विवरण गृह मन्त्रालयमा पठाएका छौं।’
विवरणअनुसार असोज ३१ गते दुई हजार ५२२, गत माघ ४ गते ७७ र फागुन २९ गते थप ३९ जना गरेर चरण चरणमा घाइतेको विवरण गृह मन्त्रालयलाई पठाइएको डा. बुढाथोकीले बताए।
सिभिल अस्पतालमा सबैभन्दा धेरे घाइतेको उपचार
प्रवक्ता डा. बुढाथोकीका अनुसार सबैभन्दा धेरै ४५८ जना घाइतेको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा उपचार गरिएको छ। त्यसपछि राष्ट्रिय ट्रमा सेन्टरमा १९० जनाको उपचार भएको छ।
यसैगरी नेपाल पुलिस अस्पतालमा २०३ र त्रिवि शिक्षण अस्पतालमा १०८ जनाको उपचार भएको थियो भने अन्य घाइतेहरु देशका विभिन्न शहर तथा काठमाडौँकै अन्य अस्पतालमा भएको बताइएको छ।
घाइतेहरूको उपचारमा हालसम्म ७ करोड खर्च
यस्तै मन्त्रालयको विवरणमा हालसम्म जेनजी आन्दोलनमा घाइते भएकाहरूको उपचारमा ७ करोड जति खर्च भएको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइ प्रमुख बुढाथोकीले बताए।
‘सामान्यदेखि जटिल प्रकारका घाइतेहरुको उपचारमा हालसम्म ७ करोड जति खर्च भएको छ‚ यो रकम घाइतेहरूको उपचारका लागि शोधभर्ना माग्ने अस्पतालहरूको विवरणको आधारमा हो। यो खर्च अझै बढ्छ किन भने घाइतेहरू अझै पनि फलोअपमा चिकित्सकको निगरानीमा हुनुहुन्छ’‚ उनले भने।
हालसम्म ३७१ घाइतेको वर्गीकरण
प्रदर्शनका क्रममा घाइते भएकाको वर्गीकरण गर्न गठित प्राविधिक समितिले हालसम्म ३७१ घाइतेको वर्गीकरण गरेको छ। घाइतेलाई चार प्रकारमा विभाजन गरिएको छ जसमा अति गम्भीर, गम्भीर, मध्यम र सामान्य गरी चार वर्गमा विभाजन गरिएको छ।
हालसम्म गरिएको वर्गीकरणमा अति गम्भीरलाई २३, गम्भीरलाई २१, मध्यम घाइतेलाई २३ र अन्य समान्य घाइते रहेका छन्। मन्त्रालयका अनुसार ११ प्रकारका चोटपटक लागेका आधारमा घाइतेको वर्गीकरण छुट्याइएको छ।
वर्गीकरणअनुसार घाइतेलाई परिचयपत्र उपलब्ध गराई आजीवन उनीहरूलाई दिने सेवा सुविधा छुट्याउने यसअघि नै सरकारले जानकारी गराइसकेको छ।
सरकारले मन्त्रालयका गुणस्तर, मापन तथा नियमन विभागका प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा १० सदस्यीय प्राविधिक समिति गठन गरेको थियो। घाइतेमध्ये चोटपटकका आधारमा वर्गीकरण गरिएको छ।
जेनजी आन्दोलनमा परी ७६ जनाले ज्यान गुमाएका थिए। जसमा अस्पताल पुग्दापुग्दै वा उपचार हुँदाहुँदै मृत्यु भएकाको संख्या ४९ जना रहेको मन्त्रालयको विवरण छ।