नेपाल सरकार मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको छ।
फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि मतगणना सकिएको र नयाँ सरकार गठनको प्रक्रिया अघि बढिरहेका बेला आइतबार दिउँसो साढे ३ बजेदेखि मन्त्रिपरिषद् बैठक बसिरहेको हो।
भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमाथि बैठकमा छलफल गरी आवश्यक निर्णय लिने तयारी गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।
स्रोतका अनुसार वर्तमान मन्त्रिपरिषद्को यो अन्तिम बैठक हो।
फागुन २५ गते आयोगका अध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको टोलीले प्रधानमन्त्री सुशीला कार्की समक्ष प्रतिवेदन बुझाएको थियो। प्रधानमन्त्री कार्कीले उक्त प्रतिवेदन मन्त्रिपरिषद्मा पेश गर्ने बताएकी थिइन्। त्यसयता मन्त्रिपरिषद् बैठक बसेको थिएन।
मन्त्रिपरिषद् बैठकले प्रतिवेदन पारित गर्ने, तर कार्यान्वयन भने नयाँ सरकार गठनपछि मात्रै गरिने जनाइएको छ। उक्त प्रतिवेदनले भदौ २३–२४ को जेन–जी आन्दोलनका क्रममा बल प्रयोग गर्ने प्रशासनिक तथा सुरक्षा अधिकारीमाथि कारबाही गर्न सिफारिस गरेको छ।