नेपालका विभिन्न स्थानहरूबाट आइतबार साँझ आकाशमा चम्किलो उज्यालो दृश्य देखिएको छ । उक्त दृश्य देखिएपछि सर्वसाधारणमा विभिन्न अड्कलबाजी र अनुमानहरू भइरहेका छन् ।
वैज्ञानिकहरूले भने आकाशमा देखिएको दृश्य कुनै खगोलीय पिण्डमा आएको परिवर्तन नभई रकेट प्रक्षेपणको प्रभाव हुनसक्ने बताएका छन् । नेपाल अन्तरिक्ष अनुसन्धान केन्द्र का प्रमुख हरिनारायण श्रेष्ठका अनुसार रकेट प्रक्षेपण गर्दा ती अत्यधिक उचाइमा पुग्ने भएकाले रातको समयमा त्यसबाट निस्कने उज्यालो पृथ्वीबाट देखिन सक्छ ।
हाल स्पेसएक्स ले फ्लोरिडा र क्यालिफोर्निया बाट नियमित रूपमा रकेट प्रक्षेपण गर्दै आएको छ । ती प्रक्षेपणकै कारण उक्त दृश्य देखिएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि कुन स्थानबाट प्रक्षेपण भएको र त्यसैको प्रभाव नेपालमा देखिएको हो भन्नेबारे यकिन जानकारी भने प्राप्त भएको छैन । यस्तो दृश्यलाई ‘स्पेस जेलिफिस’ पनि भन्ने गरिन्छ ।
यसैबीच नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले पनि उक्त दृश्य सामान्य प्राकृतिक घटना भएको बताएका छन् । उनका अनुसार विगतमा पनि यस्ता दृश्य देखिने गरे पनि मानिसहरूले खासै चासो नदिएको बताए । उनले सामाजिक सञ्जालमा आएका अपुष्ट जानकारीलाई विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।
सोसाइटीले आइतबार सामाजिक सञ्जालमार्फत जारी गरेको सूचनामा आकाशमा देखिएको उज्यालो दृश्य नेपालमाथि रकेट उडेको नभई सम्भावित रूपमा चीन बाट प्रक्षेपण गरिएको रकेट अत्यधिक उचाइमा पुगेपछि देखिएको हुनसक्ने उल्लेख गरेको छ । पृथ्वीको सतहबाट करिब २०० देखि ४०० किलोमिटर उचाइमा पुगेपछि रकेटबाट निस्कने धुवाँ सूर्यको प्रकाशले उज्यालो भई टाढासम्म देखिने गर्दछ ।
रकेट अत्यधिक उचाइमा पुगेपछि त्यसबाट निस्कने ग्यास वायुमण्डलमा व्यापक रूपमा फैलिने भएकाले पृथ्वीका हजारौँ किलोमिटर टाढासम्मबाट समेत देखिन सक्छ। यही कारण नेपालसँगै भूटान र भारत को असमलगायत क्षेत्रबाट पनि एउटै समयमा उक्त दृश्य देखिएको हुनसक्ने जनाइएको छ ।
वैज्ञानिकहरूका अनुसार यस्तो अवस्थामा रकेट नेपालमाथि उडिरहेको हुँदैन, बरु निकै टाढा उत्तरतर्फ चीन वा तिब्बत क्षेत्रको आकाशमा रहेको हुन्छ। अत्यधिक उचाइका कारण त्यसबाट निस्किएको उज्यालो धुवाँ नेपालबाट देखिने गर्दछ। यस प्रकारको घटनालाई वैज्ञानिक भाषामा “ट्वाइलाइट रकेट प्लुम” भनिन्छ, जुन उपग्रह प्रक्षेपणका क्रममा कहिलेकाहीँ देखिने सामान्य खगोलीय दृश्य हो।
यसैक्रममा चाइना ग्लोबल टेलिभिजन नेटवर्क (CGTN) का अनुसार चीनले आइतबार ‘याओगान–५० ०२’ रिमोट सेन्सिङ उपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको जनाएको छ। उक्त उपग्रह ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्र बाट स्थानीय समयअनुसार राति ९:२२ बजे लङ मार्च–६ रकेट को परिमार्जित संस्करणमार्फत प्रक्षेपण गरिएको थियो। प्रक्षेपणपछि उपग्रह सफलतापूर्वक निर्धारित कक्षमा प्रवेश गरेको जनाइएको छ।
यद्यपि नेपालबाट देखिएको उज्यालो दृश्य चीनको सोही प्रक्षेपणकै प्रभाव हो भन्ने विषयमा वैज्ञानिकहरू यकिनमा पुग्न सकेका छैनन्। हालसम्म यसबारे अनुमान मात्र गरिएको छ।