बुधबार इरानविरुद्धको युद्ध १९ औँ दिनमा प्रवेश गर्दा, सामान्यतया संकटको समयमा सुरक्षित लगानी मानिने सुनको मूल्य अपेक्षाकृत स्थिर देखिएको छ ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेदेखि यो द्वन्द्व क्षेत्रभरि फैलिएको छ, जसले विश्व अर्थतन्त्रमा नकारात्मक असर पर्न सक्ने चिन्ता बढाएको छ । मार्च २ मा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का कमाण्डर-इन-चिफका वरिष्ठ सल्लाहकार इब्राहिम जबारीले स्ट्रेट अफ होर्मुज बन्द भएको घोषणा गरे, जहाँ विश्वको २० प्रतिशत तेल र ग्यास ओसारपसार हुन्छ। यसपछि कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेको थियो ।
विगत दुई सातादेखि युद्धको अन्योलका कारण सेयर बजार ओरालो लागेको छ, तर सुनको मूल्य भने स्थिर रहेको छ ।
नेपाली बजारमा सुन र चाँदीको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सार्वजनिक गरेको मूल्य अनुसार, सुनको मूल्यमा प्रतितोला २,२०० रुपैयाँले गिरावट आएको छ । मंगलबार प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। १० ग्राम सुनको मूल्य २ लाख ६३ हजार ८ सय ५ रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलबार प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । १० ग्राम चाँदीको मूल्य ४ हजार ४ सय १५ रुपैयाँ कायम गरिएको छ ।
पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औँस करिब ५,००० डलरमा स्थिर छ । मंगलबार ११:०० GMT मा स्पट गोल्ड (तत्काल खरिद–बिक्री हुने सुन) को मूल्य ५,००१.३६ डलर र अप्रिलका लागि अमेरिकी सुनको वायदा ५,००५.२० डलर रहेको थियो ।
सुनको मूल्य स्थिर हुनुको कारण
अर्थशास्त्री रेमी बोर्जोटका अनुसार, आर्थिक संकट वा विश्वव्यापी द्वन्द्वमा सामान्यतया लगानीकर्ताहरू सुनतर्फ आकर्षित हुन्छन्, जसले यसको मूल्य तीव्र गतिमा बढाउँछ । उदाहरणका लागि, रसियाले युक्रेनमा आक्रमण गर्दा सुनको मूल्य आकाशिएको थियो ।
तर, प्रोग्रेसिभ इकोनोमी फोरमका जेम्स मिडवेका अनुसार, लगानीकर्ताहरूले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाउने अपेक्षा गरिरहेका छन् । ‘ब्याजदर बढ्दा डलरका सम्पत्तिहरू आकर्षक हुन्छन् । सुनमा ब्याज आउँदैन, त्यसैले यसको आकर्षण कम भएको छ,’ मिडवेले भने ।
ब्रुएगेल थिङ्क ट्याङ्ककी रेबेका क्रिस्टीका अनुसार, डलर बलियो हुनु अर्को मुख्य कारण हो । सुनको कारोबार डलरमा हुने भएकाले डलर महँगो हुँदा सुनको मूल्य बढाउन कठिन छ ।
सुनको भविष्य
विज्ञहरूले पश्चिम एसियामा जारी अन्योलका कारण सुनको मूल्य भविष्यवाणी गर्न कठिन भएको बताउँछन् । जेम्स मिडवेका अनुसार, सुनको मूल्यमा ठूलो परिवर्तन दुई कारणले मात्र हुन सक्छ:
१. फेडरल रिजर्भको निर्णय – यदि मे महिनामा ब्याजदर घटाउने संकेत आएमा सुनको मूल्य बढ्न सक्छ ।
२. युद्धको अवधि – युद्ध लामो समयसम्म जारी रह्यो र क्षति बढ्यो भने लगानीकर्ताहरू फेरि सुनतर्फ आकर्षित हुनेछन् ।
बर्तमान परिस्थितिमा सुनलाई सुरक्षित लगानीको रूपमा हेर्न नसकिने स्थिति रहेको विज्ञहरूले बताएका छन् ।